Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय अनुसन्धानका सूचक यादवको आतंक, भिडियो बनाउँदै ब्यापारी तर्साउँदै असुली


    सोमबार, भाद्र २ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बारा । सीमा क्षेत्रको सुरक्षा र भन्सारछली–चोरी–तस्करी नियन्त्रण गर्ने जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको हो । तर सूचना संकलन गर्नेमात्र जिम्मोरी भएको राष्ट्रिय अनुसन्धान बिभाग अन्तर्गतको बाराका एक सूचकका कारण ब्यापारीदेखि सर्वसाधारण समेत आजित छन् ।

    राष्ट्रिय अनुसन्धान कार्यालय बारामा कार्यरत सूचक जितेन्द्र यादवले ब्यापारी र घरायसी प्रयोजनका सामान ल्याउने सर्वसाधारणलाई समेत पैसा माग्ने, नदिए भिडियो खिचेर मिडियामा पठाएर बदनाम गरिदिन्छु भन्दै तर्साउने गरेको गुनासो गर्दा पनि कार्यालय प्रमुखबाट सुनुवाइ हुन नसकेको समाचार छ । विगत ६ बर्षदेखि बारामा सरुवा हुने राष्ट्रिय अनुसन्धान कार्यालयका हरेक प्रमुखले उनलाई सीमाक्षेत्रमा घुमुवाका रुपमा खटाएर  लाभ लिने गरेको आरोप छ ।

    हाल बाराका राष्ट्रिय अनुसन्धान प्रमुख सरोज निरौला छन् । यसअघिका प्रमुख दीपक खड्का थिए । खड्काले नै सीमा क्षेत्रमा यादवलाई परिचालन गरी असुली गर्न लगाएका थिए । जसका बारेमा यसअघि पनि नेपालफेसले उजागर गरेको थियो । निरौला सरुवा भएपछि पनि सूचक यादवको सीमा क्षेत्रमा चर्को दादागिरी छ । २–४ हजारको घरायसी सामान ल्याउनेहरुसँग पनि उनले घुस माग्ने र नदिए भिडियो खिचेर मिडियामा पठाइदिन्छु भनेर तर्साउने गरेको आरोप छ ।

    बाराका प्रमुख जिल्ला अधिकारीको समेत नाममा सूचक यादवले रकम उठाउने गरेको आरोप छ । सूचक यादवले कतिपय ब्यापारीलाई प्रहरी र सशस्त्रको क्राइमको असई समेत भन्दै तर्साउँदै असुल्न गरेको आरोप लाग्ने गरेको छ । केही महिनाअघि छतवाको बरैनिया बजारमा ब्यापारीहरुसँग पैसा माग्ने क्रममा उनलाई स्थानीयले कुटपिट नै गरेका थिए । तर पनि उनलाई राष्ट्रिय अनुसन्धानका एसपी निरौलाले उनलाई असुलीमा खटाउँदैआएका छन् ।

    बाराका सिम्रौनगढ, छतवा, मटिअर्वा, मुसहरवा नाकाबाट कारोबार गर्ने ब्यापारीसँग सूचक यादवले सीडीओ र राअ प्रमुखको नाममा घुस लिने गरेको स्रोत बताउँछ ।

    जितेन्द्र यादव राष्ट्रिय अनुसन्धानको स्थायी कर्मचारी समेत नभएको खुलेको छ । उनलाई करारमा राखी घुमुवाका रुपमा हाकिमहरुले असुलीमा लगाएको स्रोतले बताएको छ । तर उनले ठाउँ अनुसार कहिले रा अ को असई त कहिले नेपाल प्रहरी र सशस्त्रको असई समेत भन्दै ब्यापारीहरुलाई तर्साउने र घुस लिने गर्दैआएका छन् ।

    राष्ट्रिय अनुसन्धान बिभाग बाराका सूचक जितेन्द्र यादवले आफूले त्यसरी असुली नगरेको बताए । सीमा क्षेत्रमा खटिनुभएको त हो नि भन्ने प्रश्नमा उनले भने–म कहिले कलैया, कहिले कता जान्छु, रिपोर्ट बनाउँछु । बुझाउँछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार