Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ


    बुधबार, जेष्ठ १४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले मध्यपुर ठिमी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो ।

    मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटार बस्दै आएका थापाले सिआइबीको डिएसपी भन्दै जबरजस्ती करणीको मुद्दा मिलाइदिने बहानामा एक जनाबाट ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिन थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ। थापा २०७५ सालमा समेत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका थिए ।

    यस्तै, सिआइडी प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर थाहा नगरपालिका-७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुरा बुढिनन्दा नगरपालिका-३ का २८ वर्षीय ओब्जन चदारालाई कीर्तिपुर ट्यांलाफाँटबाट मंगलबार पक्राउ गरेको हो ।

    उनीहरूले वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयोजनमा ३० लाख ठगी भएका व्यक्तिको पैसा उठाइदिने भन्दै ४ लाख ५० हजार ठगी गरेको उक्त कार्यालयले जनाएको छ ।

    नगद लिएपछि ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक कटाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

    दुबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार