काठमाडौँ – राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् ।
बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणसँगै नागरिकका जनजीवनका विषय छलफलमा केन्द्रित हुनुपर्ने बताइन्। उनले मुलुकमा पछिल्लो समय महिला हिंसा बढेको उल्लेख गर्दै नियन्त्रण गर्न र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन सरकारसँग आग्रह गरिन् ।
“जाजरकोटमा भूकम्प गएको डेढ वर्ष हुँदा पनि अझै कतिपय प्रभावित जनताले दोस्रो किस्ताको राहत पाएका छैनन्”, सांसद विसीले भनिन्, “जनताको गुनासो तत्काल सुनुवाइ गर्न म सरकारसँग आग्रह गर्दछु ।” सरकारले संविधानअनुसार नै अध्यादेश जारी गरेको र त्यसलाई जनताका पक्षमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।
बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले पाथीभारामा केबलकार निर्माण सम्बन्धमा भएको घटनापछि आन्दोलनकारीबाट गरिएको बन्दको आह्वानले जनताको दैनिक प्रभावित भएको बताए । सो सम्बन्धमा उनले सरकारको ध्यानाकर्षण गराउँदै दुवै पक्षलाई बोलाएर वार्तामार्फत उचित निकासका लागि आग्रह गरे ।
“कोशी प्रदेशमा पछिल्लो समय जङ्गली हात्तीको आक्रमणबाट धनजनको क्षति बढेको छ । यसको उचित व्यवस्थापनका लागि म सरकारसँग आग्रह गर्दछु”, उनले भने । सांसद अछामीले बिपी राजमार्गको पुनः निर्माण बर्खाअघि नै सम्पन्न गर्नुपर्नेसमेत माग गरे ।
सांसद विष्णुकमारी सापकोटाले सरकारले जारी गरेको अध्यादेशमा धेरै व्यवस्था राम्रो भए पनि केही कुरामा परिमार्जनका लागि छलफल गर्नुपर्ने जरुरी रहेको बताइन्। साथै उनले नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि केही कुरामा संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै भनिन्, “संविधान गतिशील हुने भएकाले अनुभव गर्दै जाँदा समयानुकूल संशोधन गर्न आवश्यकता देखिएको छ ।” सांसद सापकोटाले लाखौँ खर्च गरेर विदेश पलायन भइरहेका युवा जनशक्तिलाई रोकेर स्वदेशमा लगानी गर्ने वातावरण बनाउन जरुरी भएको उल्लेख गरिन् ।
सांसद जयन्तीदेवी राईले यही माघ ११ गते अछामको ढकारी गाउँपालिकामा गोठाला गएको अवस्थामा १४ वर्षीया इसारा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको घटना अमानवीय भएको बताउँदै तत्काल दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिलाउनका लागि सरकारको ध्यानाकर्षण गराइन्। साथै उनले सम्पूर्ण किशोरीलाई स्वतन्त्र तरिकाले बाँच्न पाउने अवस्था सिर्जना गर्न माग गरिन् ।
सांसद वामदेव गौतमले आफू अध्यादेशको पक्ष र विरोधमा नभएको बताउँदै अध्यादेश जारी गर्दा प्रतिपक्षलाई साथमा लिनुपर्ने र प्रजातान्त्रिक परिपाटी उल्लङ्घन गर्न नहुने उल्लेख गरे । नेता गौतमले समाजवाद पुँजीवादसँगै निर्माण गर्न सकिने उल्लेख गर्दै भने, ‘समाजवाद निर्माण गर्न सकिन्छ, यो आजको आवश्यकता पनि यही हो । यसका लागि आवश्यक पुँजी हामीसँगै छ ।’
सांसद पूजा चौधरीले इजरायल र प्यालेष्टाइनबीच युद्ध बिराम भएका अवस्थामा प्यालेष्टाइनको गाजामा हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गर्नुपर्ने सुझाव दिइन् । साथै उनले आदिवासी जनजातिमा चौथो ठूलो जनसङ्ख्या रहेको थारु समुदाय भए पनि मधेस प्रदेशमा हालै प्रदेश निजामती सेवाको चौथो तहमा थारुको कोटा हटाएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।
त्यस्तै सांसद पदमबहादुर परियारले दलित समुदायलाई संविधानमा व्यवस्था भए पनि सरकारले अहिलेसम्म कानुन बनाएर जमिनको व्यवस्था गर्न नसकेको बताए । साथै उनले जुनसुकै पार्टीको सरकारले आए पनि दलित समुदायको अधिकारलाई उचित ध्यान दिन नसकेको गुनासो गरे । सांसद जगप्रसाद शर्माले भूमिसम्बन्धी अध्यादेशमा सुकुम्वासीलाई जग्गा दिने विषय सकारात्मक भएको र हदबन्दी फुकुवा गर्दा भूमाफियाको चलखेल हुन सक्नेप्रति भने सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद गोपाल भट्टराईले संसद् नचलेको अवस्थामा सहजीकरण गर्नका लागि अध्यादेश ल्याउने सामान्य कुरा भएको बताउँदै विगतका सरकारले आज अधिवेशन बन्द गरेर भोलि अध्यादेश ल्याएको कुरालाई स्मरण गराए । उनले दलित तथा सुकुम्वासीका लागि सहज तरिकाले जग्गा उपलब्ध गराउनु राम्रो कार्य भएको र गलत मनसायबाट सञ्चालन गरेका सहकारीलाई नियमनका लागि अध्यादेश आउनु राम्रो भएको उल्लेख गरे ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend