Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोजना प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर


    बिहिबार, पुष २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना परमानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    उनीहरूले ९६ लाख ६४ हजार २९६ रूपैयाँ ६३ पैसा हानी नोक्सानी गरेको जनाउँदै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

    अख्तियारले बुधबार श्रीवास्तवसँगै मुद्दा दायर गरेका अन्यमा इन्जिनियर पाण्डवप्रसाद देव, थोदुङ कन्सट्रक्सन प्रालिका निर्देशक ङवाङ क्षोदेन शेर्पा (ऐनसी शेर्पा), जेभी पार्टनर अजम्बर निर्माण सेवाका प्रोप्राइटर वैकुण्ठप्रसाद भण्डारी र जेभी पार्टनर शिवराम कन्सट्रक्सन कम्पनी प्रालिका प्रोप्राइटर शिवजी सापकोटा छन्।

    लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान हुँदा उनीहरूले भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

    अनुसन्धानमा आयोजना प्रमुख श्रीवास्तवले आयोजनाको स्टुड निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण नै नगरी प्रयोग गरेको खुलेको थियो।

    उक्त आयोजनाको इन्जिनियर पाण्डवप्रसाद देवले स्टुड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई गुणस्तरयुक्त भएको भनी अन्तिम बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारले जनाएको छ।

    निर्धारित सर्त र सम्झौताविपरीत कम गुणस्तरको ग्यावियन तारलाई गुणस्तरयुक्त भनी बीलमा दस्तखत गरी भुक्तानी लिउका कारण थोदुङ कन्सट्रक्सन प्रालिका डाइरेक्टर ङवाङ क्षोदेन शेर्पा, जेभी पार्टनर अजम्बर निर्माण सेवाका प्रोप्राइटर वैकुण्ठप्रसाद भण्डारी र जेभी पार्टनर शिवराम कन्सट्रक्सन कम्पनी प्रालिका प्रोप्राइटर शिवजी सापकोटाविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार