Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसएसबी महानिर्देशक र गृहमन्त्रीबीच भेटवार्ता


    आइतबार, मंसिर २ २०८१
    1.6K
    Shares
    रजनी श्रेष्ठ
  • २ मिनेट पाठ
  • काठमाडौं – गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेका छन् । उनीहरुबीच आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

    मन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिएका थिए । उनले नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

    नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न पनि मन्त्री लेखकले आग्रह गरेको उनको सचिवालयले जनाएको छ । सीमा सुरक्षा बलले सीमामा गर्ने कामकारबाहीले दुई देशबीचको सम्वन्ध थप बलियो हुने उनको विश्वास थियो ।

    भेटवार्तामा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए ।

    सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौं आएको हो । बैठक आज सम्पन्न हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार