सुरेश सापकोटा, बिर्ख शाही र गणेश न्यौपाने
महोत्तरी । सशस्त्र प्रहरी बल सीमा सुरक्षा र भन्सार छली रोक्नका लागि तैनाथ गरिएको हो । तर सशस्त्रको काम तस्करी रोक्ने भन्दा पनि तस्करसँग सेटिङ गर्ने र लाभ लिने हुँदैआएको छ । महोत्तरीका विभिन्न नाकाबाट अहिले तस्करी व्यापक मात्रामा चलिरहेको छ । तस्करीमा सशस्त्र प्रहरी बलका बिओपीका प्रहरी निरीक्षकहरूको संलग्नता देखिएको छ । एसपी सुरेश सापकोटाले अहिलेसम्म तस्करीको कुनै लाइन नदिएको र तस्करीको सामानहरू धमाधम पक्राउ गरिरहेका छन् । तर खुला सिमाना भएको कारण एसपी सापकोटाले सधैं सीमावर्ती क्षेत्रमा पुगेर तस्करीको सामान पक्राउ गरिरहन संभव पनि हँुदैन । त्यसैले पनि बिओपीका निरीक्षकहरूले आफ्नो क्षेत्रबाट तस्करी धन्दा चलाइरहेका छन् ।
सशस्त्रका यस अघिका डिआइजी केबी ब्रम्हचार्यले बाहिनीका तर्फबाट महोत्तरी हेर्न असई सुरेश महत्तोको कमान्डमा तीन जना प्रहरी परिचालन गरेका थिए । अहिले डिआइजी चन्द्रप्रकाश गौतम हाजिर हुने बित्तिकै घुमुवाहरू तानेर बाहिनीमा थन्क्याउने काम भएको छ । एसपीले पनि घुस नखाने, तस्कर नभेट्ने र डिआइजीले जिल्लामा परिचालित बाहिनीका घुमुवाहरू तानेपछि महोत्तरीका बिओपीका निरीक्षकहरूलाई खुलेआम तस्करी गराएर रकम असुल्ने मौका मिलेको छ ।
अहिले महोत्तरीमा सात वटा बिओपीहरू रहेका छन् । सबैभन्दा बढी तस्करी हुने नाका सम्सी हो । सम्सी बिओपीमा सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपाने रहेका छन् ।
जिल्लाको सम्सी, खयरवनी र रघुनाथपुर नाकाबाट तस्करी भएका सामानहरू सबै गौशाला बजार आउँछन् । यी नाकाबाट तस्करीको मुख्य काम गर्नेमा कालिया र राजा मुख्य हुन् । उनीहरू साझेदार समेत हुन् । उनीहरूले दैनिक पचास लाख रुपैयाँ भन्दा बढीको कपडा र हार्डवेयरका सामानहरू प्रहरीको सेटिङमा तस्करी गरि गौशाला ल्याउने गरिरहेका छन् ।
खयरवनी बीओपीमा सुजन गोले र रघुनाथपुरमा सूर्यबहादुर भण्डारी सशस्त्र प्रहरी निरीक्षक रहेका छन् । यी निरीक्षकहरूले तस्करीको लाइन दिएर तस्करबाट आंफै रकम लिने गरेको समेत उजागर भएको छ । भिट्टामोड बीओपीमा निरीक्षक बिर्ख शाही छन् ।
यसबाहेक रघुनाथपुर र खयरवनी नाकाबाट तस्करीको लाइन पाउनेमा बसु पटेल, महेश यादव , राजेश यादव , आलम, नथुनी , मोती मुसलमान र आलम मुख्य छन् । उनीहरूले नाकाबाट कपडा, हार्डवेयर, रांगा र खसीबोकाको तस्करी गर्दछन् । सशस्त्रका निरीक्षकहरूले उनीहरूलाई तस्करीको लाइन दिएका छन् ।
त्यसैगरी सम्सी, पोखरवृन्दाबाट तस्करीको लाइन पाउनेमा दिलीप यादव मुख्य छन् । मनरा र भिट्टामोडबाट तस्करीको लाइन पाउनेहरूमा लालबाबु यादव, अरूण सरिफूल मियाँ दिनेश, सुरेश, मिठ्ठु विपिन,, विनोद, बहुआली भन्ने महिला र कवाडीका डन मनोज साह मुख्य छन् ।
सम्सी र रघुनाथपुरबाट तस्करीको लाइन पाउनेमा गौशालाका शंकर महतो पनि मुख्य छन् ।