काठमाडौं । बियरको बोतलमा एसिड बिक्री गर्ने व्यापारी पक्राउ परेका छन् । पछिल्लो समय नेपालमा एसिड प्रहारका घटना बढिरहेको बेला एसिड बिक्रीमा लापरबाही गर्ने व्यापारी पक्राउ परेका हुन् ।
धनुषा प्रहरीले ५८ ओटा बियरको बोतलमा राखिएको एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको हो । साहले जनकपुर उपमहानगरापालिका–४ स्थित आफ्नै किराना पसलमा सो एसिड बेच्न राखेका थिए । ४३ लिटर एसिड बरामद भएको प्रहरीले जनाएको छ।
शनिबार मात्रै एक पुरुषले आफ्नी श्रीमतीलाई एसिड प्रहार गर्दा एक महिला र उनकी छोरी घाइते भएकी थिइन् । जनकपुरधाम–७ पेठियाका सञ्जीव साहले गरेको एसिड प्रहारबाट २१ वर्षीया आरती साह र ४ वर्षीया छोरी रिया घाइते भएका थिए ।
साहले विराटनगरका एक व्यापारीबाट सो एसिड किनेको अनुसन्धानको क्रममा खुलेको छ । ती व्यापारीलाई समेत पक्राउ गर्न प्रहरी खटिएको बताइएको छ ।
सो घटना लगत्तै प्रहरीले सक्रियता बढाउँदा ती व्यापारी पक्राउ परेको प्रहरीले जनाएको छ। एसिड प्रहार गरेका ती व्यक्तिले नागेन्द्रको पसलबाट नै एसिड लगेको खुलेको छ ।
एसिड प्रहारका कारण नेपालमा पछिल्ला दिनमा धेरै युवतीहरुको जीवन बर्बाद भैरहेको बेला प्रहरीले सक्रियता बढाएको हो ।
सरकारले यसको खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानुन सजायसहितको अध्यायदेश नै जारी गरेको छ । नयाँ कानुन अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।
नयाँ कानुनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ ।