Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवासंघको गुण्डाराज, सहसंयोजक बनेलगत्तै सबिनको दादागिरी


    शनिबार, माघ १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • हेटौँडा । राष्ट्रिय युवासंघ मकवानपुर आयोजक समितिको सहसंयोजक बनेका युवाले हेटौँडा बजारमा दादागिरी देखाएका छन् ।

    जिल्लामा पहिलो पार्टीको रुपमा रहेको नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अधिवेशन आयोजक समिति सहसंयोजक सविन लामासहितको टोलीले मादक पदार्थ सेवन गर्दै होटल सञ्चालकलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेपछि पक्राउ परेका छन् ।

    हेटौँडा–१ स्थित रुम्बाज् होटलमा मादक पदार्थ सेवन गरेर सबिनका साथी मिलन लामाले मनपरी बोलेसँगै झगडा बढेको हो । होटलमा लफडा परेसँगै मिलनले राष्ट्रिय युवासंघका सहसंयोजक रहेका लामालाई बाउन्सरका रुपमा उभ्याएपछि झगडाले ठूलो रुप लिएको स्थानीयले बताए । पछिल्लो समय सामाजिक रुपमा उभिँदै आएको राष्ट्रिय युवासंघ फेरि गुण्डाराजको सन्देश दिने प्रयत्नमा उत्रिएको स्थानीयको गुनासो छ ।

    बाहिरबाट केटा बोलाएर होटल सञ्चालक रोशन तामाङमाथि सांघातिक आक्रमण भएको थियो । घाइते तामाङको मकवानपुर सहकारी अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार राति घटना भएपछि सविन र मिलनलाई शुक्रबार बिहान २ बजे नियन्त्रणमा लिइएको थियो । शुक्रवार घटनाबारे बुझ्दाबुझ्दै म्यादथप गर्ने समय नमिलेर शनिबार अदालत बन्द रहेकाले आइतबार म्यादथप गरी घटनाबारे अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले बताए ।

    स्रोतका अनुसार युवासंघका जिल्ला तथा पार्टीका नेता घटनालाई सामसुम पार्ने तयारी गरिरहेको बताइएको छ । प्रहरीलाई समेत प्रलोभनमा पारेर घटनालाई दोहोरो झडपको संज्ञा दिन खोजिएको बताइएको छ । आइसियुमा भर्ना हुनेगरी कुटपिट भएको घटना मिलाउने काममा पार्टीसहित युवासंघको टोलीले परिवारलाई समेत दबाब दिइरहेको बताइएको छ ।

    लामो समयसम्म राष्ट्रिय युवा संघको अधिवेशन नभएपछि केन्द्रीय नेतृत्वको दबाबमा जिल्ला आयोजक समिति माघ १० गते मात्र गठन गरिएको थियो । सहसंयोजक बनेको २ दिन नबित्दै सबिन आक्रमणमा उत्रिएका हुन् । यसअघि उनी चेक बाउन्ससहित विभिन्न मुद्दामा पक्राउ परी छुट्दै आएका व्यक्ति हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार