Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि


    शुक्रबार, मंसिर २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र प्याजको अभाव भएको छ भने यसको फाइदा लिँदै कृत्रिम मूल्यवृद्धि गरिएको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य नतोकेपछि मनोमानी रूपमा कृत्रिम मूल्यवृद्धि गरिएको हो । आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध व्यापारीले बिक्री बन्द गरेपछि कालिमाटीले मूल्य नतोकेको जनाएको छ ।

    आयातीत मात्र नभई स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यावहारिक निर्णयका कारण व्यापारीले विरोध गरेका हुन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यापारी विरोधमा उत्रेका हुन् ।

    सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आयातीत आलु प्याजमा भ्याट लगाउने प्रावधान बनाएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ ।

    बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउनेगरी कार्यविधि बनाउने आश्वासन दिएका थिए ।

    भारतबाट आयात गरेको आलु–प्याजमा भ्याट बिल पाइने तर नेपाली किसानबाट खरिद गरेको आलु–प्याजमा भ्याट बिल नपाइने भएकाले समस्या भएको जिकिर व्यवसायीको छ ।

    भारतीय कृषिउपजलाई निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको थियो । तर, नेपाली उत्पादनलाई भ्याट नलाग्ने गरी नीति नै ल्याउने भनिएको थियो तर सो कुरा कार्यान्वयनमा नआएपछि व्यवसायी आलु प्याज बिक्री बन्द गरेर विरोधमा उत्रेका हुन् ।

    सरकारले आन्तरिक कृषिउपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले भनाइ रहेको छ ।

    सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाएको थियो । यो समाचार राजधानी दैनिकमा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार