Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा डेंगु: एक महिनामा १ सय ८ जना सङ्क्रमित


    शनिबार, भाद्र २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । चितवन जिल्लामा डेंगुको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।

    एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

    सङ्क्रमितमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सङ्क्रमितहरुमा चितवनका ६०, बाहिरी जिल्लाका ३७ र ठेगाना नखुलेका ११ जना रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा डेंगुका कारण चार जनाको मृत्यु भएको थियो । जिल्लामा भेटिएका दुई हजार तीन सय छ सङ्क्रमितमध्ये उनीहरुको मृत्यु भएको हो ।

    कार्यालयका सूचना अधिकारी केसीकाअनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका ६ सय ९५ र ठेगाना नखुलेका तीन सय २३ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

    डेङ्गु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । यस्तै शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखापर्ने केसीले जानकारी दिए ।

    यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै भएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार