Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोसीमा मुख्यमन्त्री थापाले गरे दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने राज्यमन्त्री


    बुधबार, साउन ३१ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बुधबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

    मण्डलले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए।

    कोसी प्रदेश अहिले सभामुखविहीन छ। सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर सरकार गठनमा सहभागी बनेपछि कोसी सभामुखविहीन बनेको हो। नयाँ सभामुख चयनको प्रक्रिया भने अघि बढाइएको छैन।

    सभामुख नहुँदा उपसभामुखले सभा चलाउनुपर्ने व्यवस्था छ। तर, उपसभामुख पनि अनुपस्थित रहेको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनर्ने संवैधानिक व्यवस्था छ। सभा चलाउनेले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन्। ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था बन्दैन। त्यही भएकाले आफूले विश्वासको मत लिनलाई थापाले चलाखीपूर्ण ढंगबाट ज्येष्ठ सदस्य मण्डललाई अहिल्यै राज्यमन्त्री नियुक्त गरेका हुन्।

    राज्यमन्त्री नियुक्त भएपछि मण्डलले सभा चलाउन पाउने छैनन्। साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १५ भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिइसक्नु पर्छ। सभामुख त्यागेर सरकार गठनमा सहभागी भएका गौतम अहिले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री छन्। उनी नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार