Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • टोपबहादुरको बयान : छोरा पक्राउ परेपछि मन बिग्रिएकाले भागेँ


    मंगलबार, जेष्ठ ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले छोरा पक्राउ परेपछि मन बिग्रिएकाले केही अवधि सम्पर्कविहीन भएको बयानमा बताएका छन् । नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई बयान दिने क्रममा उनले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको जिकिर गरेका हुन् ।

    प्रहरीले पक्रेर हतकडी लगाउँछ भन्ने डरले लुकेको बयान दिएका उनले आफ्नो कदम रोकिएको मात्र तर आफै सम्पर्कमा आउने क्रममा रहेको पनि दाबी गरेका छन् । आफू प्रहरीको सम्पर्कमा आउने तयारी गर्दैगर्दा प्रहरीले समातेको पनि उनले बताएका छन्।

    उनको बयान :

    प्रतिवादी केशव प्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो। प्रतिवादी सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान छ।

    प्रतिवादी टेक नारायण पाण्डे मेरो जिल्लाबासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो। प्रतिवादी इन्द्रजित राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो। प्रतिवादी बालकृष्ण खाणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ। भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएकोसम्म जानकारी छ। सोबाहेक अन्य कुरा मलाई जानकारी भएन। मैले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो। प्रतिवादी इन्द्रजित राई र प्रतिवादी सानु भण्डारी बीचको लेनदेन विषयमा उहाँहरूले जान्ने कुरा हो, मलाई जानकरी छैन। निजले मलाई दिएको भनेको रकमबाट मैले कुनै रकम लिएको छैन।

    सन्दीप रायमाझीको खातामा जम्मा गरेको रकम सम्बन्धमा निजले नै स्पष्ट पार्ने छन्। प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखि पटक पटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन। निजले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन।

    मेरो छोरा सन्दीप रायमाझीसँग कम्पनीमा साझेदारीको कुरा सन्दीप रायामाझीले दिएको बयानबाट नै देखिन्छ, मलाई रकम दिएको भन्ने जति पनि विवरणहरू छन्, त्यसमा कुनै आधार र सत्यता छैन।

    निजले ठूलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस् वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरू के-कुन प्रयोजनका लागि लेखेका हुन् मलाई जानकारी भएन।

    प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीले हामीहरूको भेटघाट नभएको धेरै समय भयो, व्यावसायिक साथीहरूले हेलीको व्यवस्था गरेका छन्, गोसाइँकुण्ड गई फ्रेस भएर आउनु पर्यो भनी मलाई प्रतिवादी केशवप्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा निजहरूले धेरै समय लाग्दैन जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म निजहरूको कुरामा सहमत भई गोसाइँकुण्ड गई फोटो खिचाई फर्किएका हौं। म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रूपमा लिएको थिएँ।

    इन्द्रजित राईलाई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन्। काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्राय: इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ।

    मिति २०७७/०९।१६ गते म आफ्नै काम विशेषले गृह मन्त्रालय गएको बेला स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्य कक्षमा छिरेर, त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ।

    कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशव प्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौं भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका थिए।

    इन्द्रजित राईलाई भण्डारीसँग मैले परिचय गराई दिएको भन्ने कुरा सत्य होइन। भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउने सम्मको कुरा मलाई थाहा छ, उक्त समितिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला र सहसचिव समेत भएको हुँदा चिनजान थियो। यो विषयमा पहिलादेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छ। बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधन हुनु पर्दछ भन्ने मेरो धारणा रहिआएको छ।

    गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुन्छ भन्ने मलाई लाग्छ।

    मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ। सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ। कदम रोकिएको मात्र हो, आफैं सम्पर्कमा आउने क्रममा थिएँ।

    (प्रतिवादी टोप बहादुर रायमाझीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज।)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार