काठमाडौं । नेपाल प्रहरीले २०७९ चैत १२ गते पक्राउ गरेका पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाका स्वकीय सचिव केशवप्रसाद दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राईले नेपालीलाई भूटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लगायतका देशमा पठाउने काम गृहमन्त्रालयका पूर्वसचिव महेश्वर न्यौपाने र टेकनारायण पाण्डेकै सहयोगमा ठगेको बयान दिएपछि धेरै हाईप्रोफाइलहरु तानिने भएका छन् ।
पक्राउ परेकाहरुको बयानका आधारमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई मंगलबार पक्राउ परे । उनकै बयान र सानु भण्डारीको च्याट र डायरीका आधारमा बुधबार हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । गृहसचिव हुँदा पाण्डेले नक्कली शरणार्थीको नाम बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा थप्ने कार्य संलग्नता देखिएपछि उनी पक्राउ परिसकेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझी, बादलका छोरा प्रतीक थापाका बिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । टोपबहादुरका छोरा सन्दीप रायमाझी बुधबार बेलुका नै पक्राउ परिसकेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व सचिव महेश्वर न्यौपानेदेखि पूर्व गृहमन्त्री बालकृष्ण खाँण, उनकी श्रीमती मन्जु खाँण, पीए नरेन्द्र केसीसमेत तानिने उच्च स्रोत बताउँछ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दाका मुख्य नाइके दाङका सन्देश शर्मा पनि पक्राउ परिसकेका छन् । उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य थिए । शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका सुजाता कोइरालाका स्वकीय सचिव केशवप्रसाद दुलालसँग मिलेर नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा पैसा उठाएका थिए । जुन समूहमा पूर्वगृहसचिव पाण्डेको मिलेमतो रहेको खुलेपछि उनी पक्राउ परिसकेका छन् । उनी भन्दा अघिका सचिव महेश्वर न्यौपानेका बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२०७७ देखि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर उच्च तहका प्रशासकदेखि राजनीतिक तहका ब्यक्तिसँगको पहुँच देखाएर प्रलोभन र बिश्वासमा पारी सयौं जना पीडितहरुबाट १ अर्ब रुपैयाँ भन्दा ठगी गरेको अहिलेसम्मको अनुसन्धानबाट देखिएको छ ।
सचिव पाण्डेः भूमिब्यवस्थामै विवादित
पाण्डेले भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुँदा आर्थिक प्रलोभनमा ताप्लेजुङको निकुन्जको जग्गा ब्यक्तिको नाममा दर्ता गर्न दबाब दिएका थिए । २०७८ साउनमा ताप्लेजुङका आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र नेपाल ट्रष्टका सदस्य योङजोम शेर्पाको प्रभावमा परी सचिव पाण्डेले उक्त जग्गा व्यक्तिका नाममा दर्ता गर्न सहयोग गरेका हुन् । ताप्लेजुङस्थित मालपोत र नापी कार्यालयमा उक्त जग्गा दर्ता दबाब दिएको आरोप लागेको छ ।
साबिक नापीमा छुटेको भन्दै सचिव पाण्डेले उक्त जग्गा दर्ता गर्न दबाब दिएपछि नापी र मालपोतका प्रमुखहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने चिन्तामा छन् । ताप्लेजुङको फक्तालुङ खम्बाचेन–६ को उक्त जग्गामा ३० वटा टहरा हालसालै बनाएर पहिलादेखि नै बस्ती थियो भनी छुट नापीका नाममा दर्ता गरिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
भूमिव्यवस्था मन्त्रालयले उक्त जग्गा संरक्षित क्षेत्रको भएकोले वन मन्त्रालयसँग सहमति लिनुपर्ने भन्दै पत्र पठाएको छ । वन मन्त्रालयमा पनि सहमतिका लागि सचिव पाण्डे सक्रियतापूर्वक लागेको स्रोत बताउँछ । पूर्वमन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्था मन्त्रालयमा ल्याएका सचिव पाण्डेको सरुवा अन्यत्र हुँदा पनि उनैले बदर गरेकी थिइन् । गिरिबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्न भूमि ऐन संशोधन गर्ने क्रममा पद्मा अर्याललाई पाण्डेले सहयोग गरेका थिए । अर्यालको छत्रछायाँमा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतका प्रजातन्त्रवादी र माधव नेपाल पक्षका समर्थक कर्मचारीहरूलाई पेल्ने काम गरेका थिए । गृह प्रशासन र सुरक्षाको शून्य ज्ञान भएपनि अहिले शेरबहादुर देउवाको गठबन्धन सरकार आएपछि उनी एकाएक नेपाली कांग्रेसको खास कार्यकर्ता भन्दै गृह मन्त्रालयको सचिव बन्न सफल भएका छन् ।
भूमि व्यवस्थामा उनले दुःख दिएका कांग्रेस समर्थक कर्मचारीहरू उनले पेलेको सम्झना गरिरहेको बताउँछन् । गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्दा पनि मन्त्री अर्यालले १० करोड भन्दा बढी घुस र दुईवटा गाडी उपहार लिएको समाचार सार्वजनिक भएको थियो । पाण्डेले पनि दररेटअनुसार नै गिरीबन्धुको प्रसाद लिएको आरोप लागेको थियो । हदबन्दी फुकुवामा ऐनको मस्यौदा बनाउँदा असहयोग गरेको भन्दै उपसचिव काजी विष्टलाई तत्कालै उद्योग मन्त्रालयमा सरुवा गर्न पनि उनै सचिव पाण्डेको हात रहेको थियो ।
पाण्डेको दबाबमा ६ आना गुठीको जग्गा व्यक्तिको नाममा दर्ता
सचिव पाण्डेले भूमि व्यवस्थामा हुँदा मन्त्रालय, विभाग र कार्यालयहरूबाट सम्पादन हुने कार्यहरूमा हस्तक्षेप गरी गैरकानूनी कार्य गर्न दबाब दिने, नमाने कर्मचारीलाई अपायक सरुवा गर्ने, कासमु रेट्ने गर्दै आएको गुनासो पीडितहरूले गर्ने गरेका थिए । एजुकेशन कन्सल्टेन्सी चलाएर बसेका र विद्यार्थीहरूलाई एमबीबीएस पढ्न चीन पठाउने क्रममा चीन आउने जाने गरेका रमेश आचार्यलाई ६ आना गुठीको जग्गा घुसाएर हालसाबिक गर्न सचिव पाण्डेले दबाब दिएका थिए । सुर्खेत घर भएका रमेश आचार्यसँग शिक्षा मन्त्रालयमा रहँदा पाण्डेको हिमचिम रहेको थियो । आचार्यको जग्गा हालसाविक गर्ने क्रममा उनको जग्गामा ६ आना गुठीको जग्गा घुसाएर गर्न सचिव पाण्डेले नै दबाब दिएका थिए ।
उक्त गुठीको जग्गा नकटाई हालसाविक गर्न सचिव पाण्डेले नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख दुर्गादास महर्जन र मालपोत कार्यालयका प्रमुख कलक खड्कालाई दबाब दिएका थिए । नापी कार्यालयले गुठीको जग्गा घुसाएर हालसाविक गर्न अस्वीकार गरेपछि सचिव पाण्डेले नापीका सर्वेक्षक महेन्द्र कुँवरलाई नापी विभागमा तानेर आचार्यलाई साविकभन्दा ६ आना बढी गुठीको जग्गा हालेर हालसाविक गराउन लगाएका थिए । साविक नक्साभन्दा अन्य व्यक्तिको जग्गामा गुठीको जग्गा देखाउन लगाई आचार्यको जग्गा हालसाविक गर्न दबाब दिएका थिए । नापी कार्यालयले गुठीको जग्गा रमेश आचार्यको नाममा नापी गर्न नमिल्ने जवाफ दिएपछि सचिव पाण्डेले मालपोतका प्रमुख कलक खड्काबाट पुर्जा दिलाएका थिए ।
गुठीको जग्गा ६ आनासमेत गरी १५ आना जग्गा रमेश आचार्यको नाममा दर्ता गरी पुर्जा दिइएको छ । गुठीको जग्गा घुसाएर पुर्जा दिने कलक खड्का चावहिल मालपोत कार्यालयमा उमेरहद नाघेपछि पनि जागिर खाएर गतबर्ष अवकाश भएका थिए । सचिवले नै गैरकानुनी रुपमा गुठीको जग्गा घुसाएर पूर्जा दिन दबाब दिएपछि कलकले यस्ता थुप्रै विवादित जग्गा दर्ता गरे । साविकमा बाटो जनाइएका जग्गाहरू पनि धमाधम हालसाविक गर्दै बाटो नै गायब पारेर पुर्जा दिने काम पनि उनले गरेका थिए । सचिव पाण्डको आडमा चावहिल मालपोतका प्रमुख कलक खड्का र मुद्दा फाँटका खरिदार लक्ष्मण बस्नेत मिलेर ५० औं करोडका जग्गा गैरकानूनीरुपमा दर्ता गरेका थिए ।
शिक्षा सेवाबाट सचिव बनेका, प्रशासन र जग्गा प्रशासनको फिटिक्कै ज्ञान नभएका सचिव पाण्डे शुभलाभ हुन्छ भनेपछि जस्तो काम गर्न पनि तत्पर रहने र आफू मातहतका कर्मचारीलाई अनावश्यक दबाब दिने गर्दथे ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend