Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयर चिरीबाबुको अडानपछि सेन्टजेभियर्स स्कुलमा गोलाप्रथाबाट बिद्यार्थी भर्ना हुने


    बुधबार, बैशाख १३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको सेन्टजेभियर्स स्कुलले विद्यार्थी भर्ना पहिलो पटक पारदर्शी रुपले गर्न लागेको छ । बुधबार बिहान उक्त स्क्ुलले गोलाप्रथाबाट विद्यार्थी छनोट गर्ने भएको हो । भर्नाका लागि आवेदन दिने सबै विद्यार्थीले गोलाप्रथामा भाग लिनेछन् । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सेन्टजेभियर्स स्कुलको अपारदर्शी भर्ना प्रक्रिया रोकी पारदर्शी रुपमा गर्ने वातावरण सृजना गरेका हुन् । पत्रकार प्रकृति अधिकारीले ललितपुरका सबै स्कुलमा कक्षा १ मा प्रवेश परीक्षा लिएर भर्ना गराउने पद्धतिको अन्त्य गर्ने निर्णय मेयर महर्जनलाई सामाजिक संजालमार्फत् सुझाव दिएका छन् ।

    सेन्टजेभियर्स स्कुलको भर्ना प्रक्रिया पारदर्शी रुपमा गर्ने सुरुवात गरेकोमा धन्यवाद दिंदै अधिकारीले ललितपुरका महानगर प्रमुख महर्जनको कार्यको सराहना गर्दै ५ बुँदामा सुझाव दिएका छन् ः

    १. ललितपुरको सेन्टजेभियर्स स्कुलले आज विहान गोलाप्रथाबाट विद्यार्थी छनोट गर्दैछ । टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण हुँदैछ । गोलाप्रथा विधि हेर्न आवेदन दिएका विद्यार्थीका अभिभावक पनि जान पाउने भएकाले जानुहोला ।

    २. स्कुलले तयार गरेको विधिअनुसार आमजनताका छोराछोरी मुस्किलले ४० जनाले भर्नाको अवसर पाउने थिए । बाँकी त बडे नेता, प्रशासक, पहुँचवालाका छोराछोरीले अवसर पाउँथे । त्यो ४० कोटामा पनि पारदर्शी रुपमा विद्यार्थी छनोट हुनेसक्ने अवस्था थिएन । तर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अडानका कारण अब १७५ सिटमध्ये १५५ सिटमा आमजनताका छोराछोरीले अवसर पाउँदैछन् । २० कोटा स्कुल (जेसुएट सोसाइटी) ले नै पाउने छ । खल्तीखल्तीका कोटा प्रथा अन्त्य हुनु पनि ठूलो उपलब्धि हो ।

    ३. अस्ति साँझ स्कुलले गोलाप्रथाका लागि छनोट भएकाहरुको नामावली भनेर नाम सार्वजनिक ग¥यो । तर सो थाहा पाएलगत्तै मेयर महर्जनले ‘आवेदन दिएका सबैलाई गोलाप्रथामा सम्मिलित गराउनू, नत्र भर्ना प्रक्रिया स्थगित गर्छौँ’ भनेर चेतावनी दिनुभयो । लिखित र मौखिक चेतावनी दिइयो हिजो विहान । स्कुलका प्रिन्सिपलले साँझ ४ बजे सबैलाई समावेश गरेर अर्को फेहरिस्त सार्वजनिक गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजो दोस्रो सूची भन्दै सबैको नामसहितको फेहरिस्त सार्वजनिक गरियो । यहाँ मेयर साहेबले नजरअन्दाज गर्नुभएको वा मौन बस्नुभएको भए आज बाँकी विद्यार्थी अन्यायमा पर्ने थिए । आवेदन दिएका जति सबै फेहरिस्तमा परेका छन् । केही उमेर नाघेका वा कम भएका सूचीमा नपर्नुलाई अन्यथा लिन सकिन्न ।

    ४. आगामी वर्षबाट ललितपुर महानगरपालिकाका सबै स्कुल चाहे सामुदायिक वा निजीमा कक्षा १ मा प्रवेश परीक्षा लिएर भर्ना गराउने पद्धतिको अन्त्य गर्ने निर्णय मेयर साहेबले लिन सक्नुहोस् । सबै स्कुलले गोलाप्रथाबाट विद्यार्थी छान्नुपर्छ । जसले परीक्षा लिएर मात्र छान्ने भन्छ, त्यो स्कुललाई कक्षा ८, १० र १२ को परीक्षाबाट वन्चित गरिनुपर्छ । त्यसको जिम्मेवारी स्कुलले लिनुपर्नेछ । तसर्थ त्यस्तो अलोकप्रिय घटना हुन नदिन स्कुलले गोलाप्रथा वा पहिलो आउनेलाई भर्ना लिने पद्धति अवलम्बन गर्नुपर्छ ।

    ५. सेन्टजेभियर्स स्कुलका बारेमा मैले गरेका पोस्टप्रति धेरै जनाको आपत्ति पनि देखेको छु । कतिपय पत्रकार साथीलाई पनि चित्त बुझेको छैन । राम्रो निर्णय गर्न वा विधि बसाल्न कुनै एक जना अलोकप्रिय वा विवादित बन्नुपर्ने हुनसक्छ । मेयर महर्जन पनि कतिपयका लागि अलोकप्रिय बन्नुभयो होला । म पनि त्यस्तै अलोकप्रिय बनेको छु होला । तर जनताका छोराछोरीले न्याय पाउन्, यही मेरा लागि सन्तोखको विषय हो । कमसेकम सेन्टजेभियर्स स्कुलमा भर्ना गराउन सोर्सफोर्स लगाउनुपर्ने प्रवृत्ति त अन्त्य हुने भयो । कमजोर विद्यार्थी छनोट भए तिनलाई अब्बल बनाउने जिम्मा स्कुलको हो । त्यसैले स्कुलले कमजोर विद्यार्थी छनोट भए भनेर दुःख मनाउन गर्न मिल्दैन । आजको गोलाप्रथाको कुराले बडो आनन्द लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार