काठमाडौं । सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५६ जनामा कोरोना पुष्टि भएको हो ।
१६ भदौमा गरिएको ५ सय ३५ जनाको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए । उनले डडेल्धुराका २, बैतडीका ११, अछामका ५ र बझाङका ३८ जनामा कोरोना पुष्टि भएको बताए ।
प्रयोगशाला इन्चार्ज भुषालका अनुसार डडेल्धुराको गन्यापधुराका २, बैतडीको पुचौँडी नगरपालिकाका १, मेलौली नगरपालिका २ र सिगास गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, अछामको पञ्चदेवल विनायक नगरपालिकाका ५ जना, बझाङको बिथ्थडचिर गाउँपालिकाका २, बुङ्गल नगरपालिकाका १४, छबिसपाथिभेरा गाउँपालिकाका २, केदारस्यूँ गाउँपालिकाका १६ र थलारा गाउँपालिकाका ४ जनामा पनि कोरोना पुष्टि भएको भुषालले बताए ।
धनगढीमा समुदायस्तरमा संक्रमण
कैलालीको धनगढीमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । धनगढीमा सोमबारसम्म २ सय ४३ जनामा संक्रमण पुष्टि भएकामध्ये ७५ जनामा ‘ट्राभल हिस्ट्री’ नभएका पाइएको हो ।
‘ट्राभल हिस्ट्री’ नभएका शिक्षक, व्यापारी, बैंकका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको छ । विज्ञहरूले धनगढीमा संक्रमण नियन्त्रण बाहिर पुगेको बताएका छन् । सिमाना गौरिफण्टासँग प्रत्यक्ष जोडिएको कारण धनगढीको स्थिति भयावह बनेको विज्ञकाे अनुमान छ ।
धनगढीमा अहिले जहाँ जसले परीक्षण गर्याे त्यहीँ संक्रमण देखिन थालेको छ । धनगढी उपमहानगरपालिकाले समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको जनाएको छ ।
आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै भएका स्थानीयमा संक्रमण बढेको धनगढी उपमहानगरका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । उनले धनगढीमा समुदायमा कोरोना संक्रमण फैलिँदै गएको कारण परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा जोड दिने बताए ।
उनका अनुसार ‘ट्राभल हिस्ट्री’ नभएका १ संक्रमितको मृत्यु भइसकेको छ । सोमबार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा कसैको पनि ‘ट्राभल हिस्ट्री’ देखिएको छैन ।
‘२४३ जनामध्ये ७५ स्थानीयमा संक्रमण देखिनु खतराको सङ्केत हो । ठूलो संख्यामा स्थानीयमा संक्रमण देखिन थालेको छ । अब समुदायमा परीक्षण दायरा बढाउन आवश्यक देखियो,’ स्वास्थ्य निरीक्षक उपाध्यायले भने ।
संक्रमण बढ्दै गएपछि धनगढीलगायत जिल्लाभर ५ भदौदेखि १९ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।