Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइँदै, तीन जिल्लाका प्रजिअ मिटिङको तयारीमा


    मंगलबार, भाद्र १६ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो गर्ने तयारी भैरहेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयको निर्णय अनुसार निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेका हुन् ।

    मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बस्ने  भएको छ । सो मिटिङले सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने र गृहमन्त्रालयबाट नै निषेधाज्ञाबारे थप निर्णय हुने भएको हो । 

    तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिनेबारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालयसहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकार निकायसँग लिखित राय लिइसकेका छन् । उद्योग मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने राय दिएको छ । तर, स्थानीय तहहरुले अझै केही साता निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

    काठमाडौंका प्रजिअ जनकराज दाहालले सरोकारवाला निकायहरुबाट आएका सुझाव र वस्तुस्थितिको मूल्यांकन गरी तीन जिल्लाकै प्रशासनले सुझावसहितको प्रस्ताव गृहमन्त्रालयलाई पठाइने बताए । ‘हामी अब निषेधित आदेशलाई निरन्तरता दिने नदिने सम्बन्धमा आवश्यक निर्णय गर्न गृहमन्त्रालयलाई नै अनुरोध गर्ने तयारीमा छौं । यसकै लागि मंगलबार प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल मिटिङ बस्दैछ,’ प्रजिअ दाहालले भने ।

    पछिल्लो दुई सातामा परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढेकाले सर्वसाधारण सोहीअनुसार सावधान हुनुपर्ने उनले बताए । अब प्रशासनले संक्रमणमुक्त भएकाहरुबाट पनि महामारीविरुद्ध जनचेतना फैलाउनेबारे पनि छलफल भैरहेको उनले जानकारी दिए ।

    भदौ ३ गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेधाज्ञा अवधिलाई भदौ ९ गते बसेको तीन जिल्लाकै सुरक्षा समिति बैठक १७ गते रातिसम्मलाई थपेको थियो । थपिएको निषेधाज्ञा बुधबार रातिबाट सकिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार