काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लामा जारी गरिएको निषेधाज्ञाको अवधि बढाउने एजेण्डासहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ।
कोरोनाभाइरस संक्रमणको जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकामा ३ भदौ मध्यरातबाट निषेधाज्ञा जारी गरिएको थियो । यसअघि तोकिएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातमा सकिंदैछ।
त्यसअघि नै निषेधाज्ञा थपसम्बन्धी आदेश जारी गर्नुपर्ने भएकाले समन्वयका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपरका सीडीओहरुको बैठक बस्न लागेको हो।
काठमाडौं उपत्यकाभित्रका महानगरपालिका तथा नगरपालिकाहरुको संयुक्त मञ्चको सोमबारको बैठकले १५ भदौसम्म निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्ने निर्णय गरेको थियो। बैठकले सो अवधिसम्म अत्यावश्यक बाहेक स्थानीय सरकारले दिने सबै सेवा बन्द गर्ने निर्णय समेत गरेको थियो।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मंगलबार अपराह्न ४ बजे सीडीओहरुको संयुक्त बैठक बस्न लागेको जानकारी दिइन्।
‘आजको बैठकमा हामी निषेधाज्ञा लगाएपछिको अवधिबारे समीक्षा गर्दैछौं’, पाण्डेले भनिन्, ‘निषेधाज्ञा थप गर्ने वा के गर्ने भन्ने निर्णय त्यहीँबाट हुन्छ।’