काठमाडौं । काठमाडौँ महानगरले केन्द्रमा रहेको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाउने भएको छ । काठमाडौं महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन् ।
महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैले हटाउने जानकारी गराएको बताएका छन् । ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत रहेका औषधि पसल हटाइने उनले बताए । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो ।
अस्पताल अगाडि भएका टहरामा रहेको ठाउँमा बगैँचा रहेकाले नक्सा विपरीत सञ्चालन भइरहेका फार्मेसी भत्काउन लागिएको पाण्डेले बताए । काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।