काठमाडौँ । चितवनबाट सञ्चालित कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि कुटपिट भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यसमेत रहेका सिंखडामाथि समाचारको विषयमा कुटपिट भएको हो ।
उनले कालिका नगरपालिकाका निर्वतमान मेयर खुमनारायण श्रेष्ठ र उनका पिए दीपक लामिछानेको बारेमा समाचार लेखेका थिए । सोही समाचार हिजो अनलाइनमा प्रकाशन गरेपछि पिए लामिछानेलगायत केही व्यक्तिले सम्पादक सिंखडामाथि हातपात गरेको नेपाल पत्रकार महासंघले बताएको छ ।
महासंघले उक्त घटनालाई लिएर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका सचिव गोविन्द्रप्रसाद चौलागाईले संप्रेषित समाचारको विषयमा चित्त नबुझे वा गुनासो भए त्यसविरुद्ध कानूनी उपचारमा जान सकिने मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारमाथि भएको कुटपिट प्रेस स्वतन्त्रता विरोधी काम भएको बताए । उनले घटनामा संलग्न व्यत्तिलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।