Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस लोकतान्त्रिक पार्टी रहेन, माओवादी प्रचण्ड कम्पनी भयोः ओली


    बुधबार, भाद्र १ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष खड्ग ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।

    अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भीर महत्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । 

    बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा सो विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’ को रुपमा प्रस्तुत गरेको जिकीर समेत गरेका छन् । 

    संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफनो बहुमतको तागत देखाइदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाइ थियो । सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरुको हातमा देश चल्न नसक्ने बताए ।

    ओलीले भने–‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस् । यो धेरै गम्भीर महत्वको प्रश्न हो भनेर फिर्ता पठाउनु भएछ । संसदमा होइन बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनु भएपछि पाखुरी छामेर राष्ट्रपतिले फिर्ता पठाउने ? जस्ताको तस्तै फिर्ता पठाउने । हिजो निर्णय गरे । संसदमा छलफल हुनै बाँकी छ । के छलफल हुन्छ अव । पाखुरेहरुले पाखुराको भाषा बोलिसके हिजै–जस्ताको तस्तै पठाइदिने । हाम्रो बहुमतको तागत देखाइदिने । को हो राष्ट्रपति, संसदलाई विचार गर्नु भन्ने ? यस्ता घमण्डीहरुले तर्क छैन, तार्किकता होइन । बल, पाखुरा, मसलका कुरा गर्नेहरु । यस्ताले देश चलाउँछन् ?  देशको दुर्भाग्य हो यो । यस्तो सरकार छ देशमा । यो संसदीय अभ्यास नै होइन । संसदमा काँग्रेस होला, माओवादी केन्द्र भन्ने होला । माधव नेपालको पार्टी होला । गठबन्धनको पार्टी होला नि संसदमा । त्यहाँ बहस गरे हुन्छ नि । अनि बाहिर यसै फिर्ता गर्ने निर्णय त भइसक्यो उनीहरुको । कस्तो संसदीय अभ्यास । विचारविमर्श नगर्ने, सोझै पठाइदिने–जस्ताको तस्तै । कुरा राम्रो, नराम्रोको मतलव छैन । हाम्रो पाखुराको कुरा हो यो । यस्तालाई सरकारका राख्नुहुन्छ ? नेपाली जनताले । यी खोपडीमा टाउकामा बुद्धि नभएका, पाखुरामा मसल मात्रै भएका हुन् । खोपडीहीन मसले ।’
     
    अध्यक्ष ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नरहेको दावी समेत गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडीरहेको काँग्रेस आचरण, नीति र व्यवहार सबै हिसावले लोकतान्त्रिक हुनै नसक्ने उनको तर्क थियो । ओलीले विगतमा पनि काँग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप लगाए । उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको दोहो¥याए । 

    अध्यक्ष ओलीले भने–‘काँग्रेस अव कहीँकतै लोकतान्त्रिक पार्टी रहेन । काँग्रेसले लोकतान्त्रिक पार्टी हुँ भन्न अव बेकार छ । काँग्रेस प्रचण्डको कार्यकर्ता हो । अव अरु पार्टीहरुको चर्चा नगरौं । समय किन खर्च गर्नु ? काँग्रेसमा लोकतान्त्रिक आचरण, नीति, सिद्धान्त, व्यवहार केही पनि रहेन । इतिहासमा पनि काँग्रेसले पटकपटक अलोकतान्त्रिक क्रियाकलाप गरेर आएको पार्टी हो । देश हितका विरुद्ध अनेक क्रियाकलाप गरेर आएको पार्टी हो । त्यो काँग्रेस सुध्रियला कि । अनुभवबाट सिक्ला कि भनेको । झनझन काँग्रेस बिग्रदै गएको छ । माओवादी पार्टी भने प्रचण्ड एण्ड कम्पनी हो । यसले कुनै पार्टीको रुप नै लिएको छैन । र, काँग्रेस प्रचण्ड एण्ड कम्पनीको पछिपछि त्यही नीतिमा लुरुलुरु हिँडी राखेको छ । त्यही व्यवहार र आचरणमा ।’
     
    अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफनो पार्टीले बहुमत ल्याउनुपर्ने पटकपटक दोहो¥याए  ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार