काठमाडौं । नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । खोटाङ बाह्रपोखरी -५ देवथान घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३५ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राई मुन ह्युमन रिसोर्स प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
राईलाई प्रहरीले हिजो आइतवार पक्राउ गरेको हो ।राईले १६ जना व्यक्तिहरूलाई वर्किङ भिषामा नेदरल्याण्ड पठाईदिन्छु प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्छ भन्दै उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए ।
मासिक ७५ हजारभन्दा बढि तलव हुन्छ भनि राईले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ ठगि गरि बेपत्ता भएका राईलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।