वीरगञ्ज । चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई प्रदेश २ सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्कोे बिहीबार बसेको आकस्मिक बैठकले चट्याङबाट ज्यान गुमाएका पीडित परिवारलाई जनही एक लाख रुपैयाँ दिन निर्णय गरेको हो ।
बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर बारामा चार जना महिलाको मृत्यु भएको थिय भने सात जना घाइते भएछन् ।
भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले चट्याङ लागेर ज्यान गुमाएका चारै जनाको परिवारलाई एकरएक लाख रुपैयाँ दिने निर्णय भएको बताए । ‘बारामा बिहान चट्याङ लागेर ४ जना महिलाको दुःखद् निधन भएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर मृतकका परिवारलाई एकरएक लाख रुपैयाँ राहत दिने निर्णय गरेका छौं ।’ उनले भने ।
घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने मन्त्री सोनलले बताए । ‘प्राकृत्तिक विपत्तिले घाइते भएका छन्, प्रदेश सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउँछ,’ मन्त्री सोनलले भने, ‘त्यसका लागि सम्बन्धित अस्पतालका मेसुसँग कुरा गर्दैछु ।’
यसैगरी चट्याङ लागेर पर्सामा पनि एक जना घाइते भएका थिए भने जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुगेको थियो ।