सिबी अधिकारी
काठमाडौँ । कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने उहाँको बाध्यता थियो ।
“पाइलट नयाँ गन्तव्यमा विशेष सजग हुनुपर्छ किनकी उडान निकै चुनौतिपूर्ण हुन्छ, विमानस्थलबारे आवश्यक जानकारी दुई–तीन दिन अघि अध्ययन गरेर पूर्ण तयारी गर्र्नुपर्छ”, क्याप्टेन भण्डारीले भन्नुभयो । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को लुम्बिनी नामको एयरबस ए३२० जहाजमाफर्त मलेसियाको क्वालालम्पुरबाट नेपाली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार बिहान उत्रनुभएका भण्डारीले कोभिडको महामारीमा सुरक्षित उडान गर्दाका अनुभव सञ्चारकर्मीमाझ बाड्दै हुनुहुन्थ्यो ।
एक हप्ता माल्दिम्स, बहराइन, दुबई र मेसियामा उडान गर्नुभएका क्याप्टेन भण्डारीलाई ती मुलुकले उडान सुरक्षाका लागि सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सजगता अपनाउने गरेको देख्नुभयो । यात्रुको स्वास्थ्य सजगताबारे नेपालको सन्दर्भमा भने उहाँले बिल्कुलै फरक अवस्था पाउनुभयो ।
“नेपालको भन्दा फरक कुरा के छ, भने उनीहरुले यात्रुलाई एकै पटक हुलमा लिने गरेको देखियो । हामीले ३०–३० जना गरेर जहाजभित्र लैजाने र ल्याउने गरेका छौँ”, उहाँले भन्नुभयो, ‘‘हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सामाविक दूरीका लागि मार्किङ गरिएको छ । स्वास्थ्य सजगता अपनाइएको छ । यसले पनि अरु देशको व्यवस्थापनको तुलनामा हामी पनि अगाडि छौ भन्ने देखिएको छ ।”
जहाजकी विमान परिचारिका सोरिका केसीले पहिलाको तुलनामा अहिलेको उडान फरक र विशेष सजगता अपनाउनुपर्ने बाध्यता रहेको बताउनुहुनछ । “अहिलेको उडानमा मनोवैज्ञानिक रुपमा पनि असर पर्छ, यात्रुसँग धेरै कुरा सोध्नुपर्ने हुन्छ । सामाजिक दूरी कायम र धेरै हिडडुल नगर्न बारम्बार भन्नुपर्छ”, उहाँले भन्नुभयो ।
छ वर्षदेखि सेवारत केसीले बन्दाबन्दीको अवधिमै जापान, हङ्कङ्, अष्ट्रेलियाको मेलबर्नलगायत गन्तब्यमा पुग्ने अवसर पाउनुभयो । राष्ट्रिय ध्वजाबाहक निगमले कोरोना महामारीबीच आफ्नो सीमित स्रोत साधनका बाबजुद अन्तर्राष्ट्रिय प्रतिस्पर्धी एयरलाइन्सको भन्दा स्तरीय सेवा दिइरहेको छ ।
असहज परिस्थितिमा स्वास्थ्य सतर्कता अपनाएर विकसित मुलुकका एयरलाइन्सको भन्दा गुणस्तरीय सेवा प्रदान गरिएको निगमले दावी गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रही नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान निर्देशिकालाई परिपालना गर्दै सेवा सञ्चालन गरिरहेको निगमले जनाएको छ ।
कोभिडको सङ्क्रमणबाट बचेर उडान गर्नु तथा यात्रुलाई पनि सुरक्षित सेवा दिनु अहिलेको महामारीका बेला कम चुनौतिको विषय हैन । विकसित मुलुक समेत अहिलेको सङ्क्रमणको मारमा छन् । अहिले विश्वका सयौँ एयरलाइन्स ठप्प भएको, हजारौँ संख्याका जहाज ग्राउण्डेड भएको तथा लाखौँ कर्मचारीको जागिर गएको अवस्थामा नेपालको राष्ट्रिय ध्वजाबाहकले अहिले विषम परिस्थितिमा पनि आफ्नो भूमिकालाई अब्बल तुल्याएको निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वाहर्चनले बताउनुभयो ।
उहाँले अन्य मुलुकले जहाज थन्क्याउने र कर्मचारी विदा गर्नुपर्ने अवस्थामा पुग्दा निगमले १०० ‘ककपिट क्रु’ र १८० ‘क्याबिन क्रु’ बाट दैनिक सेवा लिन पाउँदा राम्रै उपलब्धिको रुपमा लिएको बताउनुभयो । उहाँले उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आयोटाको मार्गनिर्देशनलाई आधार मानेर नियामक प्राधिकरणको स्वीकृति लिएर कोभिड महामारीसम्बन्धी विस्तृत मार्गनिर्देशिका ‘कोरोना अपरेटिङ प्रोसिडियर’ बनाएर उडान सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । त्यसोत निगमका लागि अहिलेको विषम परिस्थितिमा आफ्नो ऐतिहासिक अवसर र जिम्मेवारी पनि छ । व्यावसायिक दक्षताका साथ स्रोत र जनशक्तिको भरपुर उपयोग गर्दै अन्तर्राष्ट्रिय उडानमा आफ्नो छबिलाई उचो बनाउने मौका पनि हो ।रासस