बीरगंज । दुवै प्रहरीमा घुमुवा आतंक र घुमुवाको असुली कहिल्यै रोकिएन र रोक्नका लागि माथिल्लो तहबाट कुनै प्रयत्न पनि भएन भन्ने कुरा अहिले पनि घुमुवा प्रहरीको असुलीधन्दाले पुष्टि गर्दछ । पर्साको सिर्सियाबाट अहिले मिठु सिंह नाम गरेका व्यक्तिलाई तस्करीको लाइन दिइएको छ । मिठु सिंहले भ्यानका माध्यमबाट मरीच र छोगडा भारततर्फ तस्करी गर्दै आएका छन् भने भारतबाट गुट्खा, पानपराग, रजनीगन्धालगायतका सूर्तिजन्य सामानहरू नेपाल ल्याउने गर्दछन् । उनलाई सोमबार(हिजो)मात्रै जिल्ला प्रहरी कार्यालय पर्साले मरिच र छोगडा तस्करी गर्ने गरेकोबारेमा सूचना पाएपछि बोलाएर थुनेको थियो । उनी मंगलबार (आज) अपराह्नतिर मात्र छुटेका छन् ।
मिठु सिंहले कति भ्यान सामान भारत पु¥याए त्यसका आधारमा ट्रिपको हिसाबले दुवै प्रहरीले रकम लिने गर्दछ । सशस्त्रको तर्फबाट त्यहाँ बिओपी क्याम्प रहेको छ तर कारोवारी मिठु सिंहको भन्सारका डिएसपी अमर खत्रीसँग सोझै सम्बन्ध रहेको समेत खुलेको छ । डिएसपी खत्रीले पर्सा गणका एसपी दीपेन्द्र कुँवरलाई समेत मिलाउने भन्दै उनको नाममा समेत रकम उठाउँदै आएको आरोप लाग्दै आएको छ । सिर्सियामा प्रहरीका तर्फबाट सई प्रकाश रावत रहेका छन् । अहिले सिर्सियानाकाबाट तस्करीको लाइन पाउने मिठु सिंह भाग्यमानी व्यक्तिका रूपमा यहाँ चिनिन्छन् ।
उता, भन्सारका डिएसपी खत्रीले घुमुवाका रूपमा सन्तोष श्रेष्ठलाई परिचालन गर्दै आएका छन् । यसअघि राखेका धेरै घुमुवाहरू विवादमा परेपछि अहिले घुमुवाका रूपमा सन्तोष श्रेष्ठलाई उनले परिचालन गरेको र श्रेष्ठले नै तस्करदेखि व्यापारीहरूसँग समन्वय गर्ने गरेको खुलेको छ ।
यसैगरी सप्तरीस्थित हाम्रा संवाददाताले पठाएको जानकारीअनुसार बाहिनीबाट सप्तरीमा खटिएका कामु वरिष्ठ हवल्दार अशोक यादवको असुलीधन्दाले यहाँका व्यापारीहरू आजित बनेका छन् । पछिल्लो समय तस्करहरूले सप्तरीलाई तस्करीको अखडाका रूपमा काम गर्दै आएको कुरा लाइन र लेनदेन नमिलेपछि केही सामानहरू पक्राउ परेको घटनाले पुष्टि गर्दछ ।
पूर्णलकडाउनका समयमा पनि सप्तरीबाट छोगडा, मरीच र केराउ भारततर्फ तस्करी गर्दै गर्दा पक्राउ परेको घटना सार्वजनिक भएको थियो । अहिले बाहिनीबाट खटिएका ती कामु वरिष्ठ हवल्दार अशोक यादवले बाहिनीमा समेत रकम बुझाउनुपर्छ भन्दै सप्तरीबाट तस्करी गर्ने तस्करदेखि व्यापारीहरूबाट समेत रकम असुली गरेको कुरा यहाँका व्यापारीहरूले जानकारी दिएका छन् ।
फोटोः अमर खत्री र मिठु सिंह