Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीकै उद्योगका उत्पादन गुणस्तरहीन, पाँच कम्पनीलाई उत्पादन र बिक्रीमा रोक


    बिहिबार, मंसिर २ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  काठमाडौं । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने पाँच कम्पनीलाई कारबाही गरेको छ । कारबाहीमा परेको कम्पनीमध्ये एउटा वर्तमान सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)को हो । विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका पाँच कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो । ती कम्पनीमा श्रम मन्त्री किसान श्रेष्ठ संचालक रहेको ग्याँस वान नेपाल पनि हो ।

    विभागले सिरहाको मारुती, धादिङको युनाइटेड र रुपन्देहीको जगदम्बा सिमेन्ट तथा धनुषाको जानकी केबल प्रालि र पिलुवा बाराको श्री ग्यास वान नेपालका उत्पादन र बिक्रीमा रोक लगाएको छ । श्री ग्याँस वान मन्त्री श्रेष्ठको कम्पनी हो । पाँचवटै कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ ।  बजार अनुगमनका क्रममा संकलन गरेको नमूना विभागको प्रयोगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा  नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारवाही गरिएको विभागले जनाएको छ । 

    विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै मन्त्री श्रेष्ठको श्री ग्यास वानको बोटलिङ अपरेसन नै बन्द गराएको छ । उद्योगले सिलिन्डरमा स्फेटी क्याप नलगाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको जनाइएको छ ।
    सिरहामा रहेको मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपीसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पीपीसी सिमेन्टको नमूना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको विभागले जनाएको छ ।

    कारबाहीमा परेका तीनै सिमेन्ट उद्योगका उत्पादनको बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्न विभागले निर्देशन दिएको छ । उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालू अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेसन नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागको भनाइ छ । विभागले उद्योगमा सिल गरी १५ दिनभित्र स्पष्टीकरण पेश गर्ने भन्दै पत्राचार गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार