सुर्खेत । गएराति मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी हुँदा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगो सल्किएको थियो।
गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो सजिलै सल्किएर अर्को ठाउँमा पुगेको प्रहरीको भनाइ छ।
राति १२ बजेपछि लागेको आगो सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको बताइएको छ।
प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको मुगु प्रहरीले जनाएको छ।