काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतको आकर्षक विभाग मानिने आन्तरिक राजस्व विभागको महानिर्देशकको लागि भर्खरै सरुवा भएका सहसचिवहरुको दौड सुरु भएको छ । केही दिनअघि सहसचिवहरु शोभाकान्त पौडेल, भूपाल बराल, नारायण सापकोटा, रमेशकुमार केसी र केदारनाथ शर्मा अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।
जनार्दन शर्मा अर्थमन्त्री भएपछि आन्तरिक राजस्व विभागको महानिर्देशकको दाबी सहसचिव झलकराम अधिकारीले गर्दैआएका थिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव अधिकारी माओवादीका कट्टर समर्थकका रुपमा उभ्याउँदैआएका छन् । त्यही भएकाले आन्तरिक राजस्व विभागको महानिर्देशकका दाबेदारका रुपमा आफूलाई ठान्दैआएका थिए । तर उनलाई अर्थमन्त्री शर्माले मन्त्रालयमै ल्याएनन् ।
माओवादीको विश्वासपात्र हुँ भन्दैआएका झलकराम अधिकारीलाई अर्थमै इन्ट्री नगराएपछि विभागको महानिर्देशकमा शोभाकान्त पौडेलले सशक्त दाबी गर्ने मौका पाएका छन् ।
हाल आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्य छन् । उनलाई यसअघिको सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले महानिर्देशक बनाएका थिए ।
एनसेल लाभकर छलीका मतियारलाई आन्तरिक राजस्वको जिम्मा
एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वासिला सहयोगी हुन् सहसचिव पौडेल । शर्मा आन्तरिक राजस्व विभागका महानिर्देशक र पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलको लाभकर छली भएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने शर्मा र पौडेल नै भएको आरोप लागेको थियो । चुडामणि शर्माबिरुद्ध अख्तियारले कर फछ्र्योट आयोगको अध्यक्ष हुँदा कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा गएको असार ९ मा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चुडामणि शर्मा र पौडेलकै योजनामा ७२ अर्ब लाभकर छली गर्ने टेलियासोनेरालाई नेपालबाट भगाइएको थियो । ठूला करदाता कार्यालयको प्रमुखका रुपमा पौडेलको भूमिका एनसेलबाट लाभकर असुलीतिर भन्दा लाभ लिनेमै केन्द्रित रहेको थियो । एनसेल खरिद बिक्री हुँदा २०७२ मा ठूला करदाता कार्यालयका प्रमुख थिए शोभाकान्त पौडेल । २०७२ चैत ३० मा टेलियासोनेरा सेयर किनबेचको सम्पूर्ण प्रक्रिया टुंग्याएर नेपालबाट बाहिरिएपछि मात्र ठूला करदाताका तत्कालीन प्रमुख पौडेलले एनसेललाई पूँजीगत लाभकर तिर्न पत्र लेखेका थिए ।
१ सय ३० अर्ब रुपैयाँको उक्त सेयर किनबेचमा पूँजीगत लाभकर तिराउनुपर्ने कुरा पहिल्यै थाहा भएर पनि टेलियासोनेराले एजियटालाई बिक्री गरेर बाहिरिसकेपछि पत्र काटिएको थियो । लाभकर बिक्री गर्ने कम्पनीले तिर्ने हो, बिक्री गर्ने कम्पनी देशबाट बाहिरिसकेपछि पौडेलले पत्र काटेर असुली गर्ने हास्यास्पद काम गरेका थिए । टेलियासोनेराले सेयर बिक्रीबापत् सबै रकम लिएको भोलिपल्ट ठूला करदाता कार्यालयले ‘आयकर ऐन २०५८ को दफा ९५ ‘क’ बमोजिम अग्रिम कर असुल गरी दाखिला गर्न’ एनसेललाई चिठी पठाएको थियो ।
ठूला करदाता कार्यालयले जुन पत्र सेयर किनबेच प्रक्रिया टुंगिसकेपछि पठाएको थियो, त्यो एक साताअघि मात्र पठाएको भए स्थिति अर्कै हुनसक्थ्यो । किनबेच नटुंगिँदै अग्रिम करसम्बन्धी चिठी पाएको भए त्यसको समाधान नखोजी टेलियासोनेराले उन्मुक्ति पाउने थिएन । तर चुडामणि शर्मा र शोभाकान्त पौडेलले टेलियासोनेरालाई भाग्ने अवसर दिएर त्यसपछि मात्र पत्र काटेका थिए । यी तथ्यले एनसेलको लाभकर छलीमा पौडेलको संलग्नता छैन भन्न कसैले पनि सक्दैन ।