काठमाडौं । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले म्हैपीबाट ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोहलाई पक्राउ परेको छ ।
एसपी कृष्ण कोइरालाका अनुसार टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेका छन् ।
ओखेडासँगै पक्राउ पर्नेहरुमा दोलखाका मनोज कुमार श्रेष्ठ, रामेछापका दीपक थापामगर र रोशन श्रेष्ठ, काभ्रेका बिशाल लामा र योङदेन लामा र भारतीय नागरिक मोहम्मद ईसाक रहेका छन्।
उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो ।
जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको कोइरालाले बताए ।
थप अनुसन्धान जारी छ ।