Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बचतकर्ताको करोडौंं रुपैयाँ डुबाउने सहकारीलाई कसले कारबाही गर्ने ? 


    आइतबार, साउन ३१ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • ११ मिनेट पाठ
  • काठमाडौं । सहकारीको सिद्धान्त राम्रो भए पनि कतिपय सञ्चालकहरुको गैरकानूनी धन्दाका कारण अहिले बदनाम हुँदै गएका छन् । त्यसैले पूर्व उपप्रधानमन्त्री तथा सहकारी मन्त्री चित्रबहादुर केसीले सहकारीलाई साहुकारी भन्ने गर्दछन् । तिनै साहुकारीहरु अहिले गैर कानूनी रुपमा घरजग्गा खरिद गर्ने, प्लटिङ गर्ने र प्रशस्त मुनाफा गर्ने धन्दामा लागेर संस्थाको बदनाम गरेका छन् । एकाध सहकारीको बदमासीका कारण सम्पूर्ण सहकारीप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक बन्न पुगेको छ । 

    सुधिर बस्नेत अध्यक्ष रहेको ओरियन्टल सहकारी, इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बचत तथा सहकारीहरुले जनताको अबौं रुपैया हिनामिना गराएका छन् ।  तथापि अन्य सहकारीहरु पनि यहि पथमा हिड्नेहरुको संख्या बढिरहेको छ । सहकारीको रकम लुकाउन सिभिल सहकारीका तामाङले श्रीमती सिर्जना शाक्यसँग घरमा सँगसँगै बस्ने तर बचतकर्ताको रकम घोटला गर्नका लागि नक्कली पारपाचुके गरेका छन् ।

     सरकारले वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गठित जाँचबुझ आयोग, २०७० गठन गरेको थियो । सरकारले २०७० साल कार्तिक ५ गते समस्याग्रस्त सहकारीहरुको सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न  विशेष अदालतका पूर्व अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा सदस्यहरु  सीताराम उपे्रती, सुशीलराम माथेमा रहेका तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदन थन्काएर सरकार नै आँखा चिम्लेर बसेको छ । त्यसैले अहिलेसम्म बचतकर्ताहरु ठगिने क्रम रोकिएको छैन ।  देशभरका सहकारीको नियमन, अनुगमन गर्ने सहकारी विभाग जनताको करबाट अनुगमनका नाममा भत्ता मात्रै खाएर बसेको छ ।

    साश्वत ऋण तथा बचत सहकारी लिमिटेड, कलंकीका सञ्चालकहरुले नै गैरकानूनी रुपमा आफू र आफन्तका नामबाट हाउजिङ, प्लटिङ र शेयरमा लगानी गर्दा अहिले सयौं बचत कर्ताहरुको रकम डुब्ने अवस्थामा छ ।  कलंकीमा मूख्य कार्यालय रहेको यो सहकारीका सञ्चालक तथा कार्यकारी अध्यक्ष राजेन्द्र बस्नेत, संस्थाका प्रवन्धक भीमराज गिरी र लेखासमितिका संयोजक उत्तम अर्याल मिलेर झण्डै ४२ करोड हिनामिना गरेको प्रारम्भिक अनुमान गरिएको छ ।  बचतकर्ताका रकम डुबाएर अहिले ऋण तिनुपर्ने वा ठगीमा थुनिनुपर्ने अवस्था आएपछि एकले अर्कोलाई देखाएर सञ्चालकहरु पन्छिने सुरमा लागेका छन् । २०६३÷०६४ मा स्थापना भएको यो सहकारीमा ६ सय भन्दा बढि सदस्यहरु आवद्ध भएका छन् । संस्थाका मूख्य व्यवस्थापक गिरीलाई भने मिलेमतोमा भगाइएको छ ।

    सहकारीमा वार्षिक मुद्धति खातामा १६ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर जेष्ठ नागरिकहरुलाई आकर्षित गरी रकम जम्मा गराएका थिए । सुरुमा केही महिना फसाउनकै लागि आकर्षक ब्याज दिए । त्यसपछि कार्यकारी अध्यक्षका रुपमा काम गर्दै आएका राजेन्द्रकुमार बस्नेत, संस्थाका लेखासमितिका संयोजक उत्तम अर्याल र सहकारीका व्यवस्थापक भीमराज गिरीले आफ्नै तरिकाले रकम अवैध लगानी गर्दै आएको स्रोतको दाबी छ  ।

    संस्थामा ऋण लगानीका लागि कार्यकारी अध्यक्षलाई १० लाखसम्म र व्यवस्थापक भीमराज गिरीलाई पाँच लाख रुपैयाँसम्म ऋण लगानी गर्ने अधिकार थियो । तर, त्यसको दुरुपयोग गरी करोडौं रुपैया आफू र कमिसन दिने आफन्तका नाममा उनीहरुले लगानी गरेका छन् । १० लाख भन्दा बढी ऋण लगानी गर्नका लागि सञ्चालक समितिमा निर्णय गराउनुपर्ने हुन्छ । तर, यस्ता विधि र प्रक्रिया मिचेर कमिसनका लोभमा ऋण लगानी गर्दा नै यो अवस्था आएको छ ।

    साश्वत सहकारीका अध्यक्ष राजेन्द्रकुमार बस्नेतसँग बचत फिर्ता नगरेकोबारेमा प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन । उनको मोवाइल स्वीच अफ गरिएको छ । उनी समेत भागेको आशंका बचतकर्ताले गरेका छन् ।

    सहकारी विभागका अधिकारीहरु नै  मिलेमतोमा 

    सहकारी विभागका प्रतिनिधिहरु अनुगमन गर्ने, साधारणसभामा उपस्थिति जनाउने गरे पनि ठूला सहकारीले दिने खामका कारण नतमस्तक हुने गरेका छन् । बचतकर्ताहरु र संस्थाकै सञ्चालक मिलेर कारबाहीका लागि उजुरी दिँदासमेत सहकारी विभागमा एक वर्ष फाइल अड्काएर कारबाही नगरी राखिएको पीडितहरुको आरोप छ । अझ आफूले क्लिन चिट पाएको भन्दै ४५ करोड घोटलामा प्रत्यक्ष मुछिएका अध्यक्ष राजेन्द्रकुमार वस्नेतले खुला रुपमा चुनौती दिएका छन् । उनले सात करोड रुपैया आफैंले चलाएको स्वीकार गरेका छन् । सहकारीमा झण्डै ४२ करोडको रकम हिनामिना गरेका अध्यक्ष राजेन्द्रकुमार वस्नेत, अहिले पनि आफू क्लीन भएको सफेद् झुठ बोल्दै आएको सञ्चालकहरु नै बताउँछन् । 

    कालिमाटी बृत्तले किन मुद्दा दर्ता गरेन ? 

    महानगरीय प्रहरी वृत कालिमाटीले समयमा मुद्दा दर्ता नगर्दा संस्थाका प्रमुख व्यवस्थापक भीमराज गिरी फरार भइसकेका छन् । उनले मात्रै १५ करोड अनियमितता गरेको संस्थाको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बचतकर्ता र सञ्चालकहरु समेत मिलेर दिएको उजुरीमाथि पूर्ण अडिट विवरण माग गरेर प्रहरी वृत कालिमाटीले ठगी मुद्दा लम्ब्याउने कोशिश गरेको पीडितहरुको आरोप छ । यस सम्बन्धमा कालिमाटी वृतका प्रहरी नायव उपरीक्षक (डिएसपी) अपिल बोहोरासँग सम्पर्क गर्दा उनले अडिट रिपोर्टको प्रतिक्षा गरेको बताए । यस सम्बन्धमा पीडितहरुले महान्याधिवक्ता खम्बबहादुर खातीलाई समेत जानकारी गराएका छन् । महान्याधिवक्ता खातीले टेलिफोनबाट निर्देशन दिएपछि पनि मुद्दा दर्ताको प्रक्रियामा डिएसपी बोहराले आलटाल गरिरहेका छन् । 

     पटक पटक बचतकर्ता र अन्य पीडितहरुको घेराउ र नारा जुलुसको बाबजुद पनि कालिमाटी प्रहरी बृत्त भने किन आनाकानी गरिरहेको हो ? बचतकर्ताहरु छक्क परेका छन् । केही बचतकर्ताहरु भने सरकारी वकिल कार्यालयमार्फत् उजुरी दर्ताको प्रयासमा पुनः लागेको एक जना पीडितले बताए । डीएसपी बोहरा बिभिन्न प्रकरणमा यसरी विवादित भएपछि भ्याली एआइजी हरिबहादुर पालले सरुवा गर्न खोजेका थिए । तर, एआइजी प्रद्युम्न कार्कीले सरुवा गर्नबाट रोकेको सुरक्षास्रोतले बतायो ।

    शास्वत सहकारीले बचत फिर्ता नगरेको बारेमा सशरीर उपस्थित भएर उजुरी दिए पनि अध्यक्ष बस्नेत र संचालकलाई नियन्त्रणमा नलिएकोबारेमा कालिमाटी प्रहरी बृत्तका डीएसपी अपिल बोहरासँग पनि सम्पर्क हुन सकेन । प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

    कहिले र कसरी थाह भयो घोटला ? 

    सास्वत सहकारीमा करोडौं अपचलन भएको भन्ने कुरा केहि सञ्चालकहरुले २०७५ साल साउन १० गते सूचना पाए । त्यसपछि उनीहरु जम्मा भएर अपचलन गर्ने तीनै जना मूख्य ब्यक्तिका श्रीमतीहरु बोलाएर तमसुक गराएको स्रोतको दाबी छ । स्रोतका अनुसार तमसुक २०७५ साल साउन १३ मा गरिएको थियो ।  उनीहरुले संस्थाको करोडौं रकम  अपचलन भएको थाह पाए पछि संस्थाको दोस्रो साधारण सभाबाट विकास केसीको  संयोजकत्वमा आन्तरिक छानविन समिति बनाइएको थियो  ।

    छानविन समितिले ४२ करोड मध्ये अध्यक्ष राजेन्द्र बस्नेतले सात करोड भन्दा बढि, मूख्य व्यवस्थापक भीमराज गिरीले १५ करोड भन्दा बढि र लेखा समितिका संयोजक उत्तम अर्यालले पाँच करोड भन्दा बढि गरी झण्डै २८ करोड रुपैया अपचलन गरेको पत्ता लाग्यो । सहकारी ऐन अनुसार संस्थाका सञ्चालकहरुले आफ्ना नाममा ऋण लिन पाइदैन । तथापि सास्वत सहकारीका अध्यक्ष राजेन्द्र कुमार बस्नेत, लेखा समितिका संयोजक उत्तम अर्याल र व्यवस्थापक भीमराज गिरीलाई सहकारीका कुनै ऐन, नियम र कानूनले छोएन । किनकी उनीहरु सहकारी विभागका हाकिमहरु आफ्नै मुठ्ठीमा भएको र जे गरे पनि कसैले छुन नसक्ने घमण्ड प्रदर्शन गर्दै आएका थिए ।

    संस्थाको करोडौं रकम अपचलन भएको पत्ता लागेपछि साधारणसभा गरी अध्यक्ष राजेन्द्र बस्नेतलाई निलम्बन गरिएको थियो । लेखासमितिका संयोजक उत्तम अर्याल शेयरका बादशाह हुन् । त्यसै गरी अध्यक्ष राजेन्द्र बस्नेतले लिलामी जग्गा सकार गर्ने मिलेमतोमा लगानी गर्ने र नाफा कमाउने धन्दामा लागेका कारण आफैले संस्थाको पैसा परिचालन गरेका थिए । अहिले अध्यक्ष बस्नेत, लेखासमितिका संयोजक अर्याल र व्यवस्थापक भीमराज गिरीले आफन्तका नाममा गोप्य लगानी गरेको रकम संस्थामा फर्काउन सकेको खण्डमा मात्रै जेष्ठ नागरिकहरुको बचत रकम फिर्ता हुन सक्ने बताउँछन् एक जना सञ्चालक । सुरुमा सहकारीमा व्यवस्थापक बनाउनकै लागि ग्रामीण सहकारीमा कार्यरत भीमराज गिरीलाई राजेन्द्र वस्नेतले नै ल्याएका थिए । 

    अध्यक्ष वस्नेतको गैरकानूनी लगानी 

    अध्यक्ष वस्नेतले दत्तराम दाहाल भन्ने एक व्यक्ति खडा गरेर उनलार्ई ११ करोड ऋण दिएको बताएका छन् । तर, उनको कुनै जग्गा सम्पत्ति रोक्का गरिएको छैन । न त कुनै कागजात नै संस्थामा छ । यसरी नक्कली ऋणी खडा गरेर रकम आफैंले चलाउने गरिँदा अधिकांश सहकारी संस्थाहरु डुब्ने गरेको विज्ञहरुको दाबी रहँदै आएको छ । तथापि  कानूनी रुपमा अन्तिम सफाई पाउने व्यक्ति नै अध्यक्ष बस्नेत भए पनि उनी आफैले सहकारी विभागबाट क्लीनचिट पाएको बताउँदै आम बचतकर्ताहरु ‘कानूनको नौ सिंह’ को चर्चा गरेका छन् ।

    महानगरपालिका नै ठग सहकारीको मतियार

    सास्वत सहकारीले बचतकर्ताको ४२ करोडभन्दा बढी निक्षेप फिर्ता नगरेको बिषयमा काठमाडौं महानगरपालिकाले उल्टै सहकारीका अध्यक्ष र संचालकको पक्षमा निर्णय गरेको छ । महानगरपालिकाको सहकारी विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले २०७७ फागुन २ मा महानगरीय प्रहरी परिसर टेकूलाई लेखेको पत्रमा सम्पूर्ण दायित्व चुक्ता भइसकेकाले कारबाही फिर्ता गराइदिनुहुन भन्ने उल्लेख छ ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सहकारीका अध्यक्ष राजेन्द्र बस्नेतबाट शुभलाभ लिएर बचतकर्ताको ४२ करोड भन्दा बढी रकम फिर्ता नगरेको सहकारीलाई कारबाही नगर्न प्रहरीलाई पत्र लेखेको आरोप छ । बचतकर्ताहरुको गुनासो छ, नियमन गर्ने महानगरपालिकाका हाकिमलाई समेत सहकारीका अध्यक्ष राजेन्द्र बस्नेतले प्रभावमा पारेका छन् । बचतकर्ताको ४२ करोड भन्दा बढी बचत फिर्ता गरेको जानकारी हूँदाहुँदै के आधारमा प्रहरीलाई कारबाही फिर्ता गर्न पत्र लेखिएको हो भन्ने जानकारी लिन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसँग प्रतिक्रियाका लागि आइतबार पटक पटक फोन गर्दा पनि उनी सम्पर्कमा आएनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार