एजेन्सी । अफगानिस्तानका प्रमुख सहरमध्ये राजधानी काबुल मात्र तालिबानले कब्जा गर्न बाँकी छ । तालिवानी सेना काबुल कब्जा गर्न अगाडि बढिरहेका छन् । अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार तालिबानी सेना काबुल पुग्न करिब ११ किलोमिटर मात्रै बाँकी छ । अमेरिका लगायतका देशले अफगानिस्तानमा रहेका नेपालीको उद्दारका लागि पहल गरिसकेका छन् । तर नेपालले भने अफगानिस्तानमा रहेका नेपालीको उद्दारमा चासो देखाएको छैन ।
संयुक्त राष्ट्रसंघीय सहायता नियोग United Nations Assistance Mission in Afghanistan (UNAMA) को सुरक्षाका लागि खटिएका ३५ जना नेपाली तालिबानको नियन्त्रणमा रहेको सन्देश आएको छ । त्यहाँ कार्यरत नेपालीका अनुसार कान्दहारमा १४ र हेरातमा २१ नेपाली तालिबानी सेनाको कब्जामा छन् ।
यद्यपि यसको औपचारिक पुष्टी भने सम्बन्धित पक्षले गरेको छैन । तर सत्य हो । कान्दहार र हेरात नियन्त्रणमा रहेका नेपालीले बामयानमा रहेका आफ्ना साथीहरुलाई आफूहरु तालीवानको नियन्त्रणमा रहेको जानकारी दिएका हुन् ।
संयुक्त राष्ट्र संघकै मिसनको सुरक्षामा गएका कारण संयुक्त राष्ट्रसंघले संवाद गरिरहेको बताइएको छ । अहिले नेपाली काबुलमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालयमा केन्द्रित भएका छन् । हिजो राती बामयान प्रान्तबाट १८ जना नेपाली हेलीकप्टर मार्फत् मुख्यालय पुगेका छन् । उहाँका अनुसार मजार, कन्दहार, काबुल, हेरात लगायतका प्रान्तमा करिब ६०० (UNAMA) को सुरक्षामा तैनाथ थिए । काबुल पनि कब्जा हुने निश्चित जस्तै छ । त्यसपछि जस्तोसुकै परिस्थिति पनि आइलाग्न सक्छ ।
एमाले नेता राजन भट्टराईले संसदमा विपक्षीका तर्फबाट अफगानिस्तानमा रहेका नागरिकको उद्दारको बिषय उठाइएको पनि धेरै दिन भए पनि सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । भट्टराईले लेखेका छन्–‘अन्य मुलुकहरूले आ–आफ्ना नागरिक फर्काउन थालिसके । तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन । लोकतन्त्रमा सरकार यति गैरजिम्मेवार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?’