काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले २०७८ साउन २५ गते पक्राउ गरेका अवैध हुन्डीका ठूला कारोबारी तरुण खेम्का अग्रवाललाई छुटाउन नेपाल प्रहरीका उच्चपदस्थदेखि अर्थमन्त्रालयका अधिकारी नै लागेका छन् ।
नेपालमा हुन्डीका ठूला कारोबारी हुन् खेम्का । खेम्काले अर्थमन्त्रालय अन्तर्गत राजस्व समूहका उच्चपदस्थ अधिकारीहरुको भ्रष्टाचारको धन परिचालन गर्ने गरेका छन् । उनका छोराको भारतको बृन्दाबनमा भएको विवाहमा अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनालीसमेत गएको स्रोत बताउँछ ।
खेम्काको उच्चपदस्थ प्रहरी अधिकारीसँग पनि घनिष्ठ सम्बन्ध रहिआएको छ । प्रहरी प्रशासनलाई प्रभावमा पार्दै हुन्डीको निर्वाध कारोबार गर्ने गर्दथे । प्रहरीले यसअघि सानातिना हुन्डी कारोबारीलाई पक्राउ गरे पनि खेम्कालाई छुन सकेको थिएन । तर महानगरीय प्रहरी परिसर काठमाडौंले खेम्कालाई हुन्डीको रकमसहित पक्राउ गर्न सफल भएको छ । हुन्डी कारोबारमा बर्षौदेखि संलग्न खेम्का ठूला माछा हुन् । काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंहले हुन्डीको २ करोड भन्दा बढी रकम सहित पक्राउ गरिएका खेम्कालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मंगलबार बुझाइएको बताए ।
प्रहरीले सम्पत्ति शुद्धिकरणमा बुझाइएका खेम्कालाई छुटाउनका लागि एआइजी पालको सक्रियता बढेको छ । उनीबाट बरामद भएको रकमको स्रोत खुलाउनेगरी कागजात जुटाउने र उनलाई छुटाउने तयारी भइरहेको छ । हुन्डीका ठूला कारोबारी खेम्कालाई सम्पत्ति शुद्धिकरण विभागले कोभिड परीक्षण गर्नसमेत पठाएको छैन । पीसीआर परीक्षणपछि रिपोर्ट नेगेटेभि आएपछि प्रहरीले बयान लिनुपर्ने हुन्छ । तर पीसीआर नै परीक्षण नगरी छुटाउनका लागि शक्तिकेन्द्र परिचालित भएको छ ।
प्रहरी परिसर काठमाडौंले पक्राउ गरेकै भोलिपल्ट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाइएका खेम्काबाट प्रहरीले नगद र बैंक भौचरसहित २ करोड ९२ लाख २ हजार ८ सय ३ रुपैयाँ बरामद गरेको थियो ।
खेम्काबाट ९१ लाख ९६ हजार नगद, डिपोजिट स्लीप ८० लाख ४३ हजार ३ सय १९ रुपैयाँ र चेक ३६लाख ८३ हजार ४ सय ४८ रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।
तनुज इन्टरप्राइजेज प्रा लि. का संचालक खेम्कालाई गणबहालबाट पक्राउ गरिएको थियो । प्रहरीले तरुण अग्रवालसहित नितेश श्रेष्ठ, नरबहादुर खड्का र अर्जुन चौलागाईलाई समेत पक्राउ गरेको थियो ।
प्रहरीले बुझाएका खेम्कासहितका हुन्डी कारोबारीलाई सोधपुछ गर्ने कार्य भइरहेको सम्पत्ति शुद्धिकरण विभागका प्रवक्ता सुशील आचार्यले बताएका छन् ।