काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ओली सरकारले ९७ लाख मात्र खोप ल्याएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिएका हुन् ।
पूर्वप्रधानमन्त्री केपी ओलीले मंगलबार प्रतिनिधिसभामा बोल्दै आफ्नाे सरकारले लेराएकाे खाेपमा वर्तमान सरकारले आफूले लेराएकाे भन्दै जसलिन खाेजेकाे आराेप लगाएका थिए । त्येसकै प्रतिउत्तरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले स्पष्टिकरण दिएका हुन् ।
नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’
सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनले बताए ।