काठमाढौं । सरकारले विश्वविद्यालयका २० वर्षभन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । पाँच विद्यार्थी संगठनको माग सम्त्रोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालयको परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको हो ।
पाँच विद्यार्थी संगठनले सोमबार त्रिभुवन विश्वविद्यालयलगायत अरु विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउन माग गरेका थिए । त्रिविले परीक्षा नरोक्ने निर्णय गरेपछि पाँच विद्यार्थी संगठनले परीक्षाअगाडि खोप लगाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
विद्यार्थी संगठनको माग बमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् । सोमबार पाँच विद्यार्थी सङ्गठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप प्रदान गरिनेछ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएपछि विभागले ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई भेरोसेल र एस्ट्राजेनिका खोप लगाउनका लागि सर्कुलर गरेको छ । निर्णय कार्यान्वयनका लागि मन्त्रालयले लेखेको पत्रमा परीक्षामा भाग लिने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउन निर्देशन दिएको छ ।