काठमाडौं । स्थानीय तहका कर्मचारीहरुको आवधिक सरुवाको ब्यवस्था नहुँदा भ्रष्टाचारको ग्राफ बढिरहेको छ । स्थानीय निकायका कर्मचारीहरु कतिसम्म भ्रष्ट छन् भन्ने कुरा काठमाडौं महानगरपालिकाका नायबसुब्बास्तरका कर्मचारीको सम्पत्ति छानबि गर्ने हो भने प्रष्ट हुनेछ । यस्तै करोडपति होइन, करोडौंका मालिक हुन् सुब्बा सुदर्शन भट्टराई । उनी काठमाडौैं महानगरपालिकाका सुब्बा हुन् । तर उनले महानगरको जिन्सी शाखामा बसी भ्रष्टाचार गरेर करोडौं सम्पत्ति आर्जन गरेको उजुरी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा परेको छ । विभागले उनको नाममा पत्र नै काटेपछि करोडपछि सुब्बालाई सम्पत्ति लुकाउन हम्मेहम्मे परेको छ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका प्रियपात्र हुन् भट्टराई ।
महानगरको १० औं अर्ब स्रोत साधनमा ज्ञवाली र भट्टराईहरुकै ब्रम्हलुट हुँदैआएको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृतमा विशिष्ट श्रेणीको दरबन्दी काटिएपछि भ्रष्टाचारको ग्राफ ह्वात्तै बढेको छ । जहिलेदेखि सहसचिव राजेश्वर ज्ञवाली प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा बसे, त्यतिबेलादेखि महानगर कुशासन र भ्रष्टाचारले ग्रस्त छ । यादव कोइराला र एकनारायण अर्यालले महानगरमा सुशासन कायम गर्नका लागि प्रयास गरे पनि ज्ञवाली आएपछि सबै सीमाहरु भत्काएर महानगरको दोहन गर्ने र खल्ती भर्ने अभियानमा सबैको मतऐक्य रहेको स्रोत बताउँछ ।
महानगरका हरेक इकाईमा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो सेटिङ सञ्जाल तयार गरेको जनप्रतिनिधिहरुको आरोप छ । महानगर स्रोत भन्छ, प्रम्ुख प्रशासकीय अधिकृतको सेटिङमा पहिलो नम्बरमा पर्दछन्, जिन्सीका प्रमुख सुदर्शन भट्टराई । छैटौं तहका कर्मचारी भट्टराईले महानगरको गाडी सुविधा उपयोग गर्दछन् । भट्टराई जिन्सीमा बसेको ६ बर्ष बढी भइसकेको छ । मेयर विद्यासुन्दर शाक्यलाई पनि खुसी पारी उनी जिन्सीमा रजगज गरी करोडौं रुपैयाँ आर्जन गरेको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको स्रोत बताउछ । विभागले महानगरमा उनको सम्पत्ति विवरणका बारेमा जानकारी माग गरेको छ ।
जिन्सी भनेको महानगरको सुनखानी नै मानिन्छ । त्यहाँ खरिदमा करोडौं करोडको चलखेल हुने गर्दछ । नियममित प्रक्रिया नपु¥याई करोडौं भुक्तानी हुने गरेको स्रोतको दावी छ । महानगर स्रोत भन्छ, शक्ति केन्द्रमा फर्निचरदेखि विभिन्न सामानहरू यही जिन्सी शाखाबाट उपहारस्वरुप जाने गर्दछन् । पूर्व प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले जिन्सीबाट बिल भुक्तानी हुनेगरी काठमाडौंमा बनाएका आफ्ना घरहरूमा मात्र होइन, नातागोताका घरमा समेत कार्पेटदेखि फर्निचर महानगरकै बजेट खर्च गरेर पु¥याउने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि परेको स्रोत बताउछ । तर दीप बस्नेत प्रमुख आयुक्त हुँदा कार्कीले उनलाई खुसी पारी उजुरी नै तामेलीमा हाल्न सफल भएको स्रोतको दावी छ । स्रोतका अनुसार, मुद्दा नै दर्ता हुने भनिए पनि बस्नेतले कार्कीसँग भेटेपछि तामेलीमा हालिदिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका प्रमुख विश्वासपात्र सुदर्शन भट्टराईलाई मेयरले पनि अति नै पुल्पुल्याएर राखेका छन् । यसअघि एकनारायण अर्यालले उनलाई सरुवा गर्न खोज्दा मेयर शाक्यले नै रोकेका थिए । उनी ५ वर्षदेखि जिन्सीका हाकिम रहेको कर्मचारी स्रोत बताउछ । जिन्सीमा कार्यरत रहेर उनले करोडौं करोडको सम्पत्ति जोडेको उजुरीमा सम्पत्ति शुद्धीकरण विभागले महानगरमा सोधीखोजीका लागि पत्र पठाएको छ । उक्त पत्र २०७८ असार २८ मै महानगरमा आएको छ । सम्पत्तिको पत्र आएपछि तनावमा परेका महानगरका करोडपति सुब्बा भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले ढाडस दिएको चर्चा पनि छ ।
महानगरमा जिन्सीमा बसेर करोडौं आर्जन गरेको आरोप खेप्दै आएका सुदर्शन भट्टराईको अथाह सम्पत्तिमा ध्यान पुग्न नसकेकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागदेखि अख्तियारसम्म उजुरी परेको थियो । सुदर्शन भट्टराई २०७२ साउन २० गतेदेखि महानगरको जिन्सी प्रमुखका रुपमा कार्यरत छन् ।
सामान्यतया दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । महानगरमा शाखा परिवर्तन हुन्छ । तर उनी ५ वर्षदेखि जिन्सी शाखाको हाकिमका रुपमा ढलीमली गर्दै आएका छन् । उपसचिवदेखि माथि मात्र गाडी सुविधा सरकारले प्रदान गर्ने भएपनि सुब्बा स्तरका भट्टराईले महानगरको गाडी सुविधा लिएर दुरुपयोग गर्दै आएको आरोप छ ।
जिन्सीका करोडपति नासु भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले च्यापेको आरोप छ । ज्ञवाली रघुवीर महासेठले सिंचाई मन्त्री हुँदा उनलाई कांग्रेसको कार्यकर्ता हुन् भन्ने जान्दाजान्दै निजी सचिव बनाएका थिए । महासेठ २०७४ फागुन ३ गते गठन भएको वर्तमान केपी ओली सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएपछि ज्ञवालीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा लगेका थिए ।
ज्ञवालीले भ्रष्ट पृष्ठभूमिका इन्जीनियर र डीईहरूको सरुवामा साथ दिएको आरोप पनि लागेको थियो । तर जुली महतो र ज्ञवालीहरूको सेटि¨मा डीईहरूलगायतको सरुवा मालदार प्रोजेक्टमा गर्दा मन्त्री महासेठ बद्नाम भएर मन्त्रिपरिषदको हेरफेरमा बर्खास्तीमा परेका थिए । महासेठको बर्खास्तीपछि आएका भौतिक मन्त्री वसन्तकुमार नेम्वाङले ज्ञवालीलाई कर्मचारी प्रशासन महाशाखाबाट हटाएपछि महानगरपालिकामा आएका थिए । महानगरमा त्यतिबेला प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणीका सचिव एकनारायण अर्याल थिए । अर्यालको सरुवापछि तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रभावमा पारी ज्ञवालीले विशिष्ट श्रेणीको दरबन्दी काटेर सहसचिवको दरबन्दी कायम गरी आफैं प्रमुख प्रशासकीयका रुपमा हालीमुहाली गर्दैआएका छन् ।