Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोक बाढी : वैकल्पिक मार्गबाट सवारी साधन गुड्न थाले


    मंगलबार, साउन २६ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सिन्धुपाल्चाेक। बाढीले जिल्लाका पश्चिमी भेगका सडक, पक्की र झोलुङ्गे पुल क्षतिग्रस्त छ। गत असार १ र यसपछिका लगातारको अकल्पनीय बाढीले सडक र पुलमा क्षति पुगेपछि जिल्लाका हेलम्बु,पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाका विभिन्न गाउँ सडक सञ्जालबाट सम्पर्क टुटेका छन्। अहिले स्थानीय तहले वैकल्पिक सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन्।

    बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। उनका अनुसार काठमाडौँबाट हेलम्बु जान तत्काल दुईवटा वैकल्पिक मार्ग रहेका छन्। काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा मार्ग तयार छ।

    सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मोका बस वैकल्पिक बाटोका रूपमा नारायणटार, भोटचौर, धुसेनी, मानेभञ्ज्याङ, चापबोट, तालामाराङ बजार हुँदै तत्कालका लागि ढुङ्ग्रेबजारसम्म सञ्चालन हुने तयारी गरिएको छ।

    आजबाट बस बिहान ६ ,९ बजे र १२ बजे काठमाडौँबाट छुट्ने कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले जानकारी दिए। बाटोको अवस्था राम्रो भएमा अझ बस थपिने उनले जानकारी दिए। त्यस्तै सोमबारबाट इन्द्रावतीको नवलपुरबाट मेलम्ची बससेवा पनि सुरु भएको उनले बताए।

    पाँचपोखरी थाङ्पालको भोटेनाम्लाङ हुँदै चौतारा–काठमाडौँ जाने वैकल्पिक बाटो सफा गर्न सुरु गरिएको छ। साउन १६ को बाढी र पहिरोले मेलम्ची–भोताङ सडक र नवलपुर जाने पुल बगाएको त्यस्तै बाहुनेपाटीको पुल जोखिममा रहेकाले वैकल्पिक बाटोका रूपमा भोटेनाम्लाङ हुँदै चौतारा बाटो सफा गर्न थालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। यहाँबाट चौतारा हुँदै काठमाडौँ पुग्न सकिने छ।

    पहिरोले हेलम्बु राजमार्गको जिरोकिलो–मेलम्ची खण्डमा अवरोध भएपछि मेलम्ची नगरपालिकाले वैकल्पिक बाटो निमार्ण गर्न लागिपरेको छ। नगरपालिकाका इञ्जीनियर जीतबहादुर कार्कीका अनुसार तत्काल फटकशिलाको पहिरो पन्छाउन सम्भव नरहेकाले वैकल्पिक बाटोको निमार्ण गर्न लागिएको हो।

    यस्तै वैकल्पिकरूपमा रहेको किउल, पाल्चोक, दुवाचौर, मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेकामा आजबाट सफा गरी यात्रुबस सञ्चालन तयारी गरिएको मेलम्ची नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए। सो सडक सञ्चालन हुँदा हेलम्बु–१, २, ३ मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पालका १ र २ वडाका बासिन्दा लाभान्वित हुनेछन्।

    उक्त सडकहरु सञ्चालन हुँदा पनि विभिन्न वडाका बस्ती सडक सम्पर्कबाट बञ्चित नै हुनेछन्। यसका लागि हेलम्बुबाट मेलम्चीका विभिन्न पुल र सडक, मेलम्ची, इन्द्रावती र पाँचपोखरी जोडने नवलपुर जाने र फट्टेको पक्की पुल सडक निर्माण जरुरी छ। सरकारले चनौटे र मेलम्चीको एक ठाउँमा यथाशीघ्र बेलीब्रिज हाल्ने जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार