Nepal Face
  • सोमबार, १९ असोज २०८३
  • गोसाईकुण्ड सरुवा भएका काठमाडौं महानगरका न्यौपाने खटाएको कार्यालयमा गएनन्, रमाना नबुझे कारबाही हुने


    सोमबार, असोज १९ २०८३
    3.6K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश सरकारले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा सरुवा गरेका काठमाडौं महानगरपालिकाका आठौं तहका कर्मचारी श्याम न्यौपानेले खटाएको कार्यालयमा जान अटेर गर्दैआएका छन् ।

    न्यौपानेको २०८३ असोज ५ गते गोसाईकुण्ड गाउँपालिका रसुवामा सरुवा भएको थियो । सो  सरुवा रद्द गराउन र महानगरमै थमौती हुन उनी बिभिन्न शक्तिकेन्द्रमा धाइरहेका छन् । बित्त बिभागमा कार्यरत न्यौपानेले ठेकेदारहरु लगाएर सरुवा रोक्न अहोरात्र लागेको आरोप छ । स्रोतका अनुसार ठेकेदारहरुमार्फत् बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरमार्फत् सरुवा रद्द गराउँछु भन्दै उनी दौडधूपमा लागिरहेका छन् । रमाना बुझेर खटाएको कार्यालयमा जानुपर्ने उनी सरुवा रोकाउन शक्तिकेन्द्रमा दौडधूपमा लागेपछि बित्त बिभागमा अर्काे कर्मचारीले काम गर्न पाएका छैनन् ।

    काठमाडौं महानगरपालिकाका लेखाका कर्मचारी न्यौपाने सधैं बित्त  बिभागमा कार्यरत रहन पाउने भाग्यमानी र शक्तिशाली कर्मचारी हुन् । महानगरका अरु लेखाका कर्मचारीको आन्तरिक लेखापरीक्षण, आयोजना, वडाहरुमा सरुवा हुन्छ । तर न्यौपाने भने सधैंजसो बित्त बिभागमै रजगज गर्दैआएका छन् ।

    महानगरपालिका १७ वडाका वडाध्यक्ष नवीन मानन्धर र २६ नम्बरका वडाध्यक्ष ख्याम तिवारीका अति निकट मानिन्छन् न्यौपाने । यसभन्दा अघिका महानगर प्रमुख बालेन्द्र शाहले उनको क्रियाकलापबाट आजित भएर सरुवा गर्न खोज्दा मानन्धर र तिवारीले रोकेका थिए ।

    पछिल्लो पटक महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डंगोलले सरुवा गर्न खोज्दा कार्यपालिकाको बोर्डको हवाला दिंदै मानन्धर र तिवारीले रोकेका थिए । मानन्धर र तिवारीको सबै खर्च ब्यवस्थापन पनि न्यौपानेले गर्दैआएकाले उनका अनियमिततामा साथ दिंदैआएको स्रोत बताउँछ ।

    पछिल्लो पटक उनले कार्यवाहक मेयर डंगोललाई प्रभावमा पार्नका लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य अजयक्रान्ति शाक्य र अन्जना शाक्य दम्पत्तिलाई प्रभावमा पार्न सफल भएका छन् । तर उनीहरुलाई समेत सुईको नदिई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै न्यौपानेको सरुवा भएपछि तिवारी र मानन्धर पनि अवाक भएका छन् ।  न्यौपानेका बारेमा धेरै नै गुनासाहरु आएपछि उनको सरुवा भएको बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका अधिकारी बताउँछन् । रमाना नबुझे कानुन अनुसार कारबाही हुने पनि ती अधिकारी बताउँछन् ।

    एमाले सचिव महेश बस्नेतसँग आफ्नो राम्रो सम्बन्ध भएकाले न्यौपाने सरुवा रोक्न लागेका छन् । मुख्यमन्त्रीलाई महेश बस्नेतमार्फत् भनसुन गराउन उनी रातदिन लाग्दा पनि न्यौपानेको आचरणदेखि बिभिन्न गुनासा आएकाले सरुवा रोक्नै नसकिने मुख्यमन्त्री कार्यालय स्रोत बताउँछ ।

    असोज ५ गते सरुवा भइसकेपछि पनि बित्त बिभागका श्याम न्यौपानेले प्रशासन प्रमुख महेश काफ्लेसँग मिलेर धमाधम रोकिएका भुक्तानीका चेक काटिरहेको महानगर स्रोत बताउँछ । र, सरुवा भइसकेका कर्मचारीले चेक काटी धमाधम ठेकेदारहरुलाई भुक्तानी दिंदा पनि प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले रोक लगाएका छैनन् । महानगरमा सधैं वित्त बिभागमा बसी भुक्तानीमा ठेकेदारहरुसँग पीसी लिन पल्किएका उनी कुनै हालतमा सरुवा रोकाउन साम दाम सबै प्रयोग गरेर लागेका छन् ।

    बित्त बिभागमै बर्षौंदेखि कार्यरत न्यौपानेले ठेक्काको भुक्तानीमा कमिसन खाने गरेकाले उनका बिरुद्ध अख्तियारमा समेत धेरै उजुरी परेका र पटक–पटक बयान दिन पनि जाने गरेको स्रोत बताउँछ । दर्जाले आठौं तहमात्र भए पनि न्यौपाने महानगरमा शक्तिको प्रयोग गरी लाभ लिनेमा अग्रपंक्तिमा पर्दछन् । सधैं बित्त बिभागमा कार्यरत रहेका उनले अकूत सम्पत्ति आर्जन गरी काठमाडौं महानगरपालिका कालोपुल, बुढानीलकन्ठलगायतका ४ ठाउँमा घर जोडेको स्रोत बताउँछ ।

    स्रोत भन्छ–दैलेख घर भएका उनका काठमाडौंमा ४ वटा घरका अलावा ल्याण्डरोभर गाडीसमेत रहेको छ । काठमाडौंका घरदेखि परिवार र आफन्तका नाममा राखेकाले सम्पत्ति छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । सुशासनलाई एजेन्डा बनाएर आएको रास्वपाले भ्रष्टाचार गर्ने र ब्यक्तिगत बैभव हासिल गर्नेहरुको बारेमा सम्पत्ति छानबिन आयोग नै बनाएको थियो ।

    न्यौपाने भन्छन् :

    काठमाडौं महानगरपालिकाको बित्त बिभागमा कार्यरत आठौं तहका श्याम न्यौपानेले भने–‘मेरो सरुवा नै कानुनबिपरीत गरिएको छ । म महालेखा नियन्त्रक कार्यालयको आठौं तहको कर्मचारी हुँ । सातौं तहको दरबन्दीमा सरुवा गरिएको छ । जुन कानुनतः मिल्दैन । काठमाडौंमा मेरा ४ वटा घर देखाउन चुनौती दिन चाहन्छु । एउटा घर छ, घर निर्माण गर्न १ करोड ४० लाख रुपैयाँ बैंकबाट ऋण लिएको छु ।अख्तियारले गतबर्ष नै मेरो सम्पत्ति बिवरण छानबिन गरी हेरेर केही नदेखिएपछि तामेलीमा राखिसकेको छ । मैले कुनै सेवाग्राहीको काम रोकेर एक पैसा लिएको भए पुष्टि गर्न समेत चुनौती दिन्छु । म दराज समेत मेरो कार्यकक्षमा राख्दिनँ । फाइल कुनै पनि अड्किएको गुनासो सेवाग्राहीसँग सोध्न सक्नुहुन्छ ।’

    न्यौपानेले भने–‘म इमान्दारीपूर्वक काम गर्ने मान्छे हो, गाडी खरिद गरिएको भनिएको छ । सरकारले नै गाडी दिएको छ भने मलाई अर्को गाडी किन चाहियो ? घर बनाउन नै ऋण लिएको छु । गाडी खरिद कसरी गर्न सक्छु ? फेरि बैंकमा घर निर्माणकै ऋण हुँदाहुँदै गाडीका लागि ऋण बैंकले कसरी दिन्छ ?’ केही रिसईबी हुनेहरुले जे दियो, त्यो प्रकाशित नगरी सत्यतथ्य जाँच गरी समाचार लेख्नुहोला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार