Nepal Face
  • मंगलबार, १६ भाद्र २०८३
  • विपद्को घडीमा स्वास्थ्य मन्त्रालयको ‘एक्सन’ : प्रभावित क्षेत्रमा औषधि, स्वास्थ्य सामग्री र जनशक्ति परिचालन तीव्र


    सोमबार, भाद्र १५ २०८३
    430
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि, स्वास्थ्य सामग्री तथा जनशक्ति परिचालनलाई तीव्र बनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयले विपदको सुरुवातदेखि नै चौबीसै घण्टा आवश्यक समन्वय र परिचालन गर्दै आएको छ । प्रभावित क्षेत्रको स्वास्थ्य अवस्था र आवश्यकताबारे निरन्तर जानकारी लिँदै तत्काल आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गर्न मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिँदै आउनुभएको छ

    मन्त्रालयको समन्वयमा ट्रमा सेन्टर, पाटन मानसिक अस्पताल तथा धुलिखेल अस्पतालका चिकित्सकसहितका स्वास्थ्य टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् । ती टोलीहरूले प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा तथा उपचारमा सहयोग गरिरहेका छन् ।

    ठूलो मात्रामा औषधि तथा स्वास्थ्य सामग्री परिचालन

    विपदका कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति तथा वितरणलाई प्राथमिकतामा राखिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भारत भट्टराईको समन्वय तथा सहयोगमा ठूलो मात्रामा औषधि स्वास्थ्य सेवा विभागमा उपलब्ध गराई प्रभावित क्षेत्रमा पठाउने कार्यमा सहयोग गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य सेवा विभागले प्राप्त औषधि तथा स्वास्थ्य सामग्रीलाई प्रभावित जिल्लाको आवश्यकता र मागका आधारमा तत्काल परिचालन गरिरहेको छ ।

    रसुवा र नुवाकोटमा अत्यावश्यक स्वास्थ्य सामग्री पठाइयो

    रसुवा स्वास्थ्य कार्यालयका लागि पठाइएको एन्टीरेबिज भ्याक्सिन (एआरभी) २२० भायल सम्बन्धित स्वास्थ्य कार्यालयले प्राप्त गरी बुझिसकेको छ ।

    नुवाकोटका लागि डेड बडी ब्याग २०० थान, पीपीई ४० सेट लगायत ६ किसिमका स्वास्थ्य सामग्री हेलिकप्टरमार्फत् पठाइएको छ ।

    त्यस्तै, नुवाकोटका लागि डेंगी किट १,०००, मलेरिया किट १,०००, चोलेरा किट ६०० तथा ५२ किसिमका अत्यावश्यक औषधि स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेको समन्वयमा सवारी साधनमार्फत् पठाइएको छ ।

    उक्त सामग्री त्रिशुली वारिपारी पुगिसकेको छ भने त्रिशुलीपारी रहेको स्वास्थ्य कार्यालयसम्म सामग्री पु‍र्याउन प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको छ ।
    नवलपरासीमा पनि स्वास्थ्य सामग्री परिचालन

    नवलपरासी पूर्वका लागि २०० थान र नवलपरासी पश्चिमका लागि ३०० थान डेड बडी ब्याग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्राप्त गरी प्रहरीको सहयोगमा हवाईमार्गबाट पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार