Nepal Face
  • बिहिबार, ४ भाद्र २०८३
  • लगानीबोर्डमा १५ दिनसम्म पनि याङ्कीले नियुक्ति पाइनन्, चन्द्र ढकालका ज्वाइँको बाटो खुलेकै हो ?


    बिहिबार, भाद्र ४ २०८३
    395
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले याङ्की उक्यावलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको निर्णय गएको साउन २० गते गरे पनि अहिलेसम्म नियुक्ति दिएको छैन ।

    सामान्यतया मन्त्रिपरिषदले निर्णय गरेको २४ घन्टाभित्र नियुक्तिपत्र दिने गरिन्छ । तर याङ्की उक्याबलाई १५ दिन बितिसक्दा पनि नियुक्तिपत्र दिइएको छैन ।

    संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी याङ्कीलाई निर्णय भएको १५ दिनसम्म पत्र नदिइएपछि अब उनले नियुक्ति पाउने संभावना कम देखिएको छ ।

    बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेकी छन्। यससँगै उनले अमेरिकाको युनिभर्सिटी अफ मिजौरीबाट अर्थशास्त्रमा पनि मास्टर्स गरेकी याङ्की नियुक्तिपछि उनका बारेमा आएका टिप्पणीहरुलाई लिएरै उनलाई पत्र नदिइएको बताइएको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ती तीन जनामध्येबाट मन्त्रिपरिषदले याङ्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    याङ्कीले पत्र नपाएपछि अब दोस्रो नम्बरमा रहेका मनोज पौडेल लगानीबोर्डको सीईओ नियुक्ति हुने संभावना बढेको छ । पौडेल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालका छोरीज्वाइँ हुन् । नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माका छोरा पौडेललाई नै लगानीबोर्डको सीईओ बनाउने पक्षमा अर्थमन्त्री वाग्ले रहेको अवस्थामा प्रधानमन्त्री वालेन्द्र शाहले याङ्कीलाई नियुक्त गरेका थिए ।

    पौडेल युवा अर्थशास्त्री र उद्योग वाणिज्य महासंघको अघिल्लो कार्यसमितिमा एशोसियट समूह तर्फको केन्द्रीय सदस्य थिए ।

    कोष व्यवस्थापक कम्पनी आध्यन्तका संस्थापकका रुपमा व्यवसायमा प्रत्यक्ष संलग्न उनी पूर्वाधार विकास, बैकिङ्ग, शिक्षा, लगानी परिचालन र पुँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध छन् । उनी प्राइम बैंकका पूर्व बोर्ड डाइरेक्टर पनि थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार