Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • लगानी बोर्डको सीईओका लागि ३ जनाको नाम सिफारिस, चन्द्र ढकालका ज्वाइँ पनि परे


    बुधबार, साउन १३ २०८३
    255
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोेजक रहेको समितिले लगानी बोर्डको सीइओका लागि ३ जनाको नाम सिफारिस गरेको छ । संक्षिप्त सूचीमा छनोट भएका ८ जनामध्येबाट समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

    लगानी बोर्डको सीइओका लागि सिफारिस हुनेहरुमा याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धिताललाई सिफारिस गरेको छ । अर्थमन्त्री वाग्ले संयोजक, योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुुशासन सल्लाहकार सुदीप ढकाल सदस्य रहेको बोर्डको सीईओ छनोट समितिले सिफारिस गरेकामध्ये पौडेल सीइओ हुने संभावना प्रबल देखिएको छ । पौडेल नभएमा याङ्की उक्याव सीइओ हुने संभावना देखिन्छ ।

    पौडेल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरीज्वाइँ हुन् ।

    पौडेल युवा अर्थशास्त्री हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो कार्यसमितिमा एशोसिएट समूहतर्फको केन्द्रीय सदस्य थिए । उनी प्राइम बैंकका २ कार्यकाल बोर्ड डाइरेक्टर समेत भइसकेका छन् ।

    कोष व्यवस्थापक कम्पनी आध्यन्तका संस्थापकका रुपमा व्यवसायमा प्रत्यक्ष संलग्न पौडेल पूर्वाधार विकास, बैंकिङ, शिक्षा, लगानी परिचालन र पूँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध छन् ।

    लगानी बोर्डको सीईओका लागि सिफारिस भएकी याङ्की उक्याव विकास अर्थशास्त्री हुन् । उनले यसअघि लगानी बोर्डमै पराशर्मदाताको रुपमा काम गरेकी थिइन् । उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा परिचित छिन् । उनी युएनडीपी नेपालमा विकास अर्थशास्त्री पनि थिइन् ।

    लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका मध्येबाट ८ जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको थियो । ती ८ जनामध्येबाट तीनजना सिफारिस भएका हुन् ।

    सिफारिस समितिले गोकर्णेश्वरका सुमनमान सिंह बस्न्यात, कागेश्वरी मनोहराका जितेन्द्र धिताल, नयाँ बानेश्वरका डा. मुकुन्द प्रसाद पौड्याल, सिरहाका डा. सरोज कोइराला, महाराजगञ्जकी याङ्की उक्याब, दैलेखका बखतबहादुर शाही, ललितपुरका मनोज पौडेल र बूढानीलकण्ठका मधुप्रसाद भेटुवालको संक्षिप्त सूची (सर्टलिष्ट) मा निकालेको थियो । यीमध्येबाट याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धिताललाई छनोट गरी साउन ८ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता भएको थियो ।

    आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले छोरा सचिन ढकाललाई रास्वपाको सांसद बनाउन समानुपातिक सूचीमा राख्ने ब्यवस्था गरेका थिए । तर उमेर नपुगेको भन्दै उनले पछि नाम फिर्ता लिएका थिए । छोरालाई सांसद बनाउन नसके पनि उनका ज्वाइँ भने लगानीबोर्डको सीईओ हुने संभावना प्रबल बनेको छ ।

    छनोट समितिमा रहेका संयोजक अर्थमन्त्री वाग्ले र बिज्ञका रुपमा राखिएका प्रधानमन्त्री वालेन्द्र शाहका सुशासन सल्लाहकार सुदीप ढकालको समेत मनोज पौडेललाई बोर्डमा ल्याउने चाहना रहेकाले उनी ३ जनामा सिफारिसमा अटाएको भन्नेहरु पनि उत्तिकै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार