Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठगीमा पक्राउ परेका तेल भिसाका निर्माता छुटाउन रास्वपा नेता मोहन थापा सक्रिय


    मंगलबार, चैत्र १० २०८२
    1.5K
    Shares
    शिवराज कार्की, मोहन थापा र शंकर घिमिरे
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । भर्खरै सम्पन्न निर्वाचनमा झन्डै दुईतिहाई बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले औपचारिक रुपमा सत्ताको बागडोर सम्हालिसकेको छैन । औपचारिक रुपमा सो पार्टीले सत्ता नसम्हाल्दै बिभिन्न काण्ड लागेर अमेरिकाले डिपोर्ट गरेका मोहन थापाले बैदेशिक रोजगार ठगीमा परेकाहरुलाई छुटाउन प्रहरीमा चलखेल सुरु गरेका छन् ।

    विगतमा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले जसरी रकमको डिल गरेको अडियो प्रकरण आएपछि उनलाई हटाउन रास्वपा सभापति रवि लामिछाने बाध्य भएका थिए, अहिले दुई तिहाई बहुमत आउनासाथ अमेरिकाबाट डिपोर्ट भएका विवादास्पद थापा प्रहरीका सरुवा, बढुवादेखि पक्राउ परेकाहरुलाई छुटाउन डिल गर्न थालेको स्रोत बताउँछ । बिचौलियामुक्त देश बनाउने भन्दै चुनाव जितेको रास्वपा सत्तामा नआउँदै थापाजस्ता बिचौलियाको चलखेल बढिसकेको छ ।

    सोमबार पक्राउ परेका ‘तेल भिसा’ फिल्मका निर्माता शिवराज कार्कीलाई छुटाउन मोहन थापा सक्रिय भएका छन् । रास्वपा सभापति रवि लामिछानेका निकट रहेका थापाले प्रहरीका उच्च अधिकारीहरुसँगको पहुँच देखाएर कार्कीलाई छुटाउन लबिईङ गरिरहेको आरोप छ । चावहिलमा रहेको पीएन्डएम इनोभेटिभ सर्भिस नामक कन्सल्टेन्सीमार्फत् बैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर २ सय ५० जनाभन्दा बढी ब्यक्तिहरुलाई ठगी गरेका कार्कीलाई छुटाउन थापा लागेका छन् ।

    कार्कीलाई छुटाउन लागेका थापाले अमेरिकाको बाल्टिमोरमा बस्दैआएका तेल भिसाका निर्देशक शंकर घिमिरे र उनकी श्रीमती नायिकासमेत रहेकी ऋचा घिमिरेलाई समेत प्रहरीले खोजिरहेको छ भनेर सेटल गर्नका लागि ठूलै रकम माग गरेको स्रोत बताउँछ ।

    घिमिरे दम्पतीले अमेरिका लैजान्छु भन्दै ठगी गरेको उजुरी चितवनका आनन्द घिमिरेले २०८१ कात्तिकमै जिल्ला प्रहरी परिसरमा दिएका थिए । ‘तेल भिसा’का निर्माता तथा निर्देशक घिमिरेमाथि प्रहरीमा उजुरी परेको समाचार नै सार्वजनिक भएको थियो । घिमिरे दम्पतीले अमेरिका लैजान्छु भन्दै ठगी गरेको उजुरी परेको थियो । अमेरिकामा तेल भिसाको सुटिङ समेत भएको थियो । फिल्म सुटिङका लागि कलाकार भनेर भिसा लिने र अमेरिका मानवतस्करी गर्ने गरेको आरोप उनीहरुमाथि लाग्दैआएको छ ।

    बीसौं लाख लिएर कलाकारको रुपमा अमेरिका लगेर छाड्ने धन्दा नै बनाएको र प्रहरीमा उजुरीसमेत परेको थाहा पाएका रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका मोहनजंग थापाले प्रहरीले निर्माता कार्कीलाई पक्राउ गरेपछि उनीहरुलाई समेत खोजी गरेको भन्दै सेटल गर्नका लागि रकम माग गरिरहेको स्रोत बताउँछ ।

    त्यसो त अमेरिकाबाट डिपोर्ट भएका मोहन थापा पनि नेपालमा आएपछि अमेरिकामा बिभिन्न बहानामा मान्छे पठाउनै सक्रिय रहेको स्रोत बताउँछ । अमेरिकामा तडकभडकपूर्ण जीवनशैली भएका र राजनीतिक नेतासँग पहुँच भएका चर्चित कलाकारहरुले समेत अमेरिकामा मानवतस्करी गर्ने गरेको आरोप छ । बाल्टिमोरमै रहेका गायक प्रेमराजा महतमाथि पनि कलाकारका रुपमा मानिस उता लाने गरेको आरोप छ ।

    चलचित्र तेल भिसाका निर्माता शिवराज कार्कीले २ सय ५० जनालाई बैदेशिक रोजगारीमा पठाइदिने भनेर ठूलो रकम ठगी गरी विगत तीन महिनादेखि भारतको दिल्लीस्थित पहाडगञ्जमा होटल खोलेर बसेका थिए ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्कीलाई स्वयम्भूबाट पक्राउ गरेको हो । कार्कीले कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर २ सय ५० जनाभन्दा बढी व्यक्तिहरूलाई ठगी गरेको र १ सय भन्दा बढी पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर उजुरी दिएको प्रहरीले जनाएको छ ।

    सिन्धुलीको सुनकोशी गाउँपालिका ७ घर भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका, माकलबारीमा बस्ने कार्कीविरुद्ध वैदेशिक रोजगार ठगी मुद्दामा ६ वटा पक्राउ पूर्जी जारी भएको थियो । उनलाई मंगलबारै बैदेशिक रोजगार बिभागमा बुझाएको प्रहरीले जानकारी दिएको छ । कार्कीले विगत १० वर्षदेखि चावहिलमा रहेको पीएन्डएम इनोभेटिभ सर्भिस नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए ।

    कार्कीविरुद्ध गएको असार २४ मा प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरमा पनि उजुरी दर्ता भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार