Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • देउवालाई शर्माको चेतावनी: विशेष महाधिवेशन नभए राजीनामा दिन्छु


    आइतबार, कार्तिक ३० २०८२
    895
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद समाधान गर्न पहलकदमी लिएका छन्।

    उपचार गरी सिंगापुरबाट फर्केका सभापति देउवाले हिजोआज पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूसँग ‘वान टू वान’ कुराकानी गरेका छन्।

    महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा सभापति देउवाले नेताहरूसँग छलफल गर्दै आएका हुन्।

    साथै सभापति देउवाले आज महामन्त्री विश्वप्रकाश शर्मासँग कुराकानी गरेका छन्।

    सभापति देउवाले महामन्त्री शर्मासँग आज करिब सवा १ घन्टा कुराकानी गरे। मध्याह्न १२ बजेदेखि कुराकानी सुरू भएको थियो।

    महामन्त्री शर्माले केन्द्रीय समितिमा विभिन्न एजेन्डामाथि आएका धारणा, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको र समसामयिक राजनीतिक घटनाक्रमबारे सभापति देउवालाई ब्रिफिङ गरेका थिए।

    ‘सरकार बनाउने धाराभन्दा बाहिर गएर सरकार बन्नु संविधानसम्मत हुँनैन भनेजस्तै कांग्रेस पनि विधानको धारा १७ को उपधारा २ मा उल्लेख भएको व्यवस्थालाई सम्बोधन गर्ने गरी अघि बढेन भने पार्टी विधानअनुसार चलेको हुँदैन,’ महामन्त्री शर्माले सभापति देउवालाई भने, ‘कांग्रेस विधानअनुसार चलेन भने पार्टी र देशका पनि दुर्भाग्यपूर्ण हुन्छ।’

    ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनको विषयलाई सम्बोधन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने महामन्त्री शर्माको भनाइ छ।

    ‘विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने गरी या त नियमित महाधिवेशन गर्नुपर्छ या त विशेष महाधिवेशन गर्नुपर्छ, समयमै नियमित महाधिवेशन गर्ने हो भने विशेष महाधिवेशनको मागलाई सम्बोधन हुन सक्छ। तर नियमित महाधिवेशन गर्न भ्याइँदैन भन्ने हो भने विधानले तोकेको समयभित्र विशेष महाधिवेशन गर्नुपर्छ,’ महामन्त्री शर्माले सभापति देउवालाई भनेका छन्, ‘आवेगमा निर्णय गर्ने र त्यो निर्णय विधानअनुसार नहुने हो भने त्यसको साक्षी बनेर बस्दिनँ।’

    विधानभन्दा बाहिर गएर पार्टीले निर्णय लिने हो भने त्यस्तो अवस्थामा आफू महामन्त्री पदमा नरहने कुरा पनि सभापति देउवालाई शर्माले सुनाएका छन्।

    असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक चले पनि नेताहरूले धारणा राखेर सकिँदासम्म बैठक निष्कर्षमा पुग्न नसकेर स्थगित छ।

    सोमबार दिउँसो २ बजे पुनस् केन्द्रीय समिति बैठक बस्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार