Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्य भोटेकोशी १० करोड असुली प्रकरण : को को तानिंदैछन् ?


    शुक्रबार, कार्तिक २१ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • सिन्धुपाल्चोक (बाह्रबिसे) । एक सय दुई मेघावाट उत्पादन क्षमताको मध्यभोटेकोशी जलबिद्युत आयोजनाको विद्युत उत्पादन करिब १ बर्षसम्म अवरुद्ध गरी उक्त आयोजनालाई दबाबमा पारेर गरिएको सम्झौताका कारण बाह्रबिसे नगरपालिका यतिबेला विवादको घेरामा परेको छ ।

    बाह्रबिसे नगरपालिका वडा नम्बर ९ स्थित नगर अस्पतालको स्तरोन्नति गर्ने भनेर मध्यभोटेकोशी जलबिद्युत आयोजनाबाट ५ करोड रुपैयाँ लिइसकेको बिषयकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामा छापा मारी कागजपत्र नियन्त्रणमा लिइसकेको छ । उक्त अस्पतालको स्तरोन्नतिका लागि भनी नगरपालिकाले ५ करोड रुपैयाँ लगेको हो । मध्यभोटेकोशी करिब १ बर्षसम्म अवरुद्ध गरेर १२ करोड बराबरको घाटा पुर्याई ५ करोड रकम नगर अस्पतालका नाममा लगिएको थियो ।

    मध्य भोटेकोशी जलबिद्युत आयोजनामा आन्दोलन गरी निर्माण अवरुद्ध गरेर लिइएको ५ करोड रकममध्ये बाह्रबिसे नगरपालिकाले अस्पतालका कर्मचारीको तलवका अलावा स्थानीय शिक्षक र मेयर बालकृष्ण बस्नेतनिकटका पत्रकारहरुलाई बितरण गरेको पाइएको स्रोतले बताएको छ । अस्पतालका लागि लगेको रकम आफूखुसी तजबिजी अधिकार प्रयोग गरी अन्यत्र खर्च गरेपछि अख्तियारले छापा मारी कागजपत्र छानबिनका लागि लगेको जनाएको छ ।

    मध्यभोटेकोशी जलबिद्युत आयोजना अवरुद्ध गर्दा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ थिए, जो अहिले ऊर्जामन्त्रीसहित ३ मन्त्रालयका मन्त्री छन् ।

    मध्यभोटेकोशीको निर्माण अवरुद्ध गरी अनधिकृत रुपमा ठूलो रकममा बार्गेनिङ गरी पैसा असुलीको सम्झौतामा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बिष्णुबहादुर खत्री र उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष तथा आफूलाई भावी मेयरका प्रत्यासीका रुपमा चिनाउँदैआएका बुद्धराज बस्नेत रोहबरमा बसी हस्ताक्षरसमेत गरेका छन् । मेयर बालकृष्णले आफूमात्र होइन, खत्री र बुद्धराजलाई पनि अख्तियार धाउनुपर्ने अवस्थामा पुर्याएका छन् ।

    स्थानीय नागरिकलाई आयोजनाबिरुद्ध भड्काउने मुख्य भूमिका मेयर बालकृष्ण बस्नेत, उद्योग बाणिज्य सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेत र नेपाली कांग्रेसबाट प्रदेशसभा निर्वाचन लडिसकेका बिष्णु खत्रीले गरेको र सम्झौतामा हस्ताक्षरसमेत गरी दुधको साक्षी बिरालो बनेको बुझाइ अख्तियारको छ ।

    अस्पतालका नाममा जनता भड्काउने र आयोजनालाई बाध्य पारी ५ करोड असुली प्रकरणमा अख्तियारले तीनैजनाका बिरुद्ध मुद्दा दायर गर्ने प्रबल संभावना छ ।

    मेयर बस्नेतसहित अध्यक्ष बस्नेत र महासंघका पूर्व केन्द्रीय सदस्य बिष्णु खत्रीले मध्य भोटेकोशी आयोजनामा स्थानीयलाई उचालेर १० करोड लिने सम्झौता गरेका थिए । सम्झौता भएकोमध्ये ५ करोड लिइसकेका थिए । जुन रकम अस्पतालमा मात्र खर्च गर्नेगरी लिए पनि अन्यत्र खर्च गरिएपछि अख्तियारले छानबिन गरेको हो ।

    मध्य भोटेकोशी आयोजना स्रोतका अनुसार दबाबमा राखी सम्झौता गरी लगिएको रकम बाह्रबिसे नगर अस्पतालको स्तरोन्नतिका लागि भनिएको छ । तर उक्त रकम शिक्षकको तलवदेखि पत्रकारलाई खुसी पार्न बाँडिएको तथ्य बाहिर आइसकेको छ । बाह्रबिसे नगर अस्पताल भनिए पनि उक्त अस्पतालले नेपाल सरकारबाट नगर अस्पतालको स्वीकृति पाइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले नेपालफेसलाई बताएको छ ।

    स्मरण रहोस्, यिनै मेयर बस्नेतले अख्तियारबाट बाह्रबिसे नगरपालिकामा काजमा खटिएका एक कर्मचारीलाई अनधिकृत रुपमा आफू जनप्रतिनिधि भएको भुलेर काजफिर्ताको परिपत्रसमेत गैरकानुनी रुपमा आफैंले हस्ताक्षर गरी जारी गरेका थिए । र, मिडियामा समेत प्रचार गराएका थिए । अख्तियारसमेतलाई चिढ्याएर दाजु मोहनबहादुर बस्नेतका पक्षमा खुल्ला अभिब्यक्ति दिएका मेयर बस्नेत यो पटक पनि आफैंले अनधिकृत रुपमा अनुमति नै नलिएको अस्पतालका नाममा मध्यभोटेकोशीबाट लिएको रकमका कारण नराम्रोसँग अख्तियारको छानबिनको दायरामा तानिएका छन् ।

    अनुमति नलिएको अस्पतालको नाममा आयोजनालाई नै उत्पादन बन्द गर्न लगाएर रकम लिनु नै गैरकानुनी भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । उनले भने–स्वास्थ्यचौकीलाई अनधिकृत रुपमा नगर अस्पताल भनेर रकम त्यो पनि जनप्रतिनिधिले लिनु सरासर अख्तियारको दुरुपयोग हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार