Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीरगंजमा राजस्वको छापा : अध्यक्ष भुलन सोनारका भान्जाको घरबाट अवैध सुन बरामद (भिडियोसहित)


    सोमबार, असोज २७ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बीरगंज । बीरगंजस्थित एक सुन व्यवसायीको घरमा राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र बीरगंज भन्सार कार्यालयलगायत निकायहरूको संयुक्त टोलीले गरेको छापा मारी स्रोत नखुलेको ठूलो परिमाणमा सुन बरामद गरिएको छ ।

    विश्वस्त स्रोतका अनुसार, पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सोनारका भान्जा अभिषेक सर्राफको माईस्थानस्थित घरमा सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रह्यो ।

    अभिषेक सर्राफ अध्यक्ष सोनारका बहिनी ज्वाइँ सन्तोष सर्राफका छोरा हुन् । उनले माईस्थान मन्दिरअगाडि सुनचाँदीको पसल सञ्चालन गर्दै आएका छन् । तर, छापा मार्न गएको टोलीले पसलभन्दा पनि घरभित्रका विभिन्न कोठा, फूलका गमला र सुरक्षित स्थानहरूमा लुकाइराखिएका काँचो सुन, सुनचाँदीका गहना, बन्धकी गहना र अन्य बहुमूल्य सामग्री फेला पारेको बताइएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा बरामद सुनको स्रोतबारे कुनै विश्वसनीय कागजात प्रस्तुत गर्न नसकिएको जनाइएको छ । टोलीले बरामद सामग्री नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

    स्रोतका अनुसार, घरमा उपभोक्ताले धितो राखेका गहना बाहेक कारोवारका लागि लुकाइएका ठूलो मात्रामा सुन भेटिएको छ, जसको प्रारम्भिक मूल्यांकन करोडौँ रुपैयाँमा पुग्ने अनुमान गरिएको छ ।

    छापा कार्यमा राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल  र बीरगंज भन्सार कार्यालयको संयुक्त टोली संलग्न रहेको पुष्टि गरिएको छ ।

    घटनापछि बीरगंजको सुन व्यवसायी समुदायमा व्यापक हलचल मच्चिएको छ। स्थानीय व्यवसायीहरूले यसलाई ‘सुन कारोबारमा फैलिँदै गएको कालो व्यापारको स्पष्ट संकेत’ भन्दै चासो व्यक्त गरेका छन् ।

    यस घटनाले बीरगंजमा सञ्चालित सुनचाँदी व्यवसाय र त्यससँग जोडिएका शंकास्पद कारोबारमाथि गम्भीर प्रश्न उब्जाएको छ । स्रोतका अनुसार, प्रारम्भिक प्रमाण संकलनपछि टोलीले कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

    यता, आफ्नै भान्जाको घरबाट अवैध सुन बरामद भएपछि अध्यक्ष भुलनको छटपटी बढेको छ ।

    स्मरण रहोस् यसअघि पनि भुलन सोनारका आफ्नै भाइ केपी स्वर्ण कला केन्द्रका संचालक कन्हैयाप्रसाद सोनारको पसलमा पटक पटक छापामारी गरी अवैध सुन चाँदीका गहनाहरू नियन्त्रणमा लिइएको थियो ।

    हेर्नुहोस् छापा मार्दै गरेको भिडियो

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार