Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गीतमा ‘जेनजी’ चेतना मुखरित, भ्रष्टाचार हामी सहन्नौँ कहिल्यै    


    शनिबार, असोज ४ २०८२
    880
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  •     
    ‘भ्रष्टाचार हामी सहन्नौँ कहिल्यै    
    सहन्नौँ घुसखोरी    
    यो देशको मुहार फेर्नलाई आयौँ    
    जनताका छोराछोरी…’    

    हालैको ‘जेनजी’ आन्दोलनले उठाएको माग र मुद्दालाई गायक विनम्र खत्रीले गीतमा यसरी मुखरित गर्नुभएको छ । बिहीबार युट्युबमा सार्वजनिक ‘हामी जेनजी पुस्ता’ गीतमा उहाँले ‘जेनजी’ पुस्ताको मनोभावलाई उजागर गर्नुभएको हो । भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानताको मागसहित सुरु भएको ‘जेनजी’ आन्दोलनको उद्देश्य हिंसा र अराजकता नभएकोतर्फ इङ्कित गर्दै गायक खत्री भन्नुहुन्छ –

    ‘विध्वंस हाम्रो नीतिमा छैन, न नीति लुट्ने धन    
    जनताको मर्म बुझ्दछ जसले उसैलाई समर्थन…’    
        
    गीतमा राष्ट्रियता र देशप्रेम झल्किएको छ । युवाहरूका आकाङ्क्षा र अठोट प्रतिबिम्वित छ । ‘जेनजी’ आन्दोलनका क्रममा सहिद भएकाहरुको बलिदानलाई खेर जान नदिने सङ्कल्प छ । गीतले भन्छ –

     ‘हजुरबुबा तपाइँले देख्नु’भो नातिको बलिदान    
     जानलाई खेर दिँदैनौ हामी साथीको बलिदान…’   

    मुलुकमा व्याप्त बेथिति र विसङ्गतिका विरुद्ध सडकमा ओर्लिएका ‘जेनजी’ पुस्ताको आवाजलाई गायक खत्रीले गीतमा माध्यमबाट प्रस्तुत गर्नुभएको छ । युवा भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार हुन् र उनीहरु नै भोलिको देश हाँक्ने पिँढी हुन् भन्ने यथार्थलाई गीतले आत्मसात् गरेको छ । गीतमा प्रयुक्त शब्दमा युवाको देशप्रेमको भाव यसरी प्रस्फुटित भएको छ –

    ‘हिम्मत कहिल्यै हार्दैनौँ हामी न कहिल्यै थाक्नछौँ    
    माटोको कसम खाएर देशको शिर उच्च राख्नछौँ…’    

    ‘सुमधुर क्रियसन’ले प्रस्तुत गरेको उक्त गीतमा शब्द र सङ्गीत गायक विष्णु खत्रीले दिनभएको छ । उहाँकै युट्युब च्यानलबाट सार्वजनिक गीतले हालसम्म २१ हजार बढी ‘भ्यूज’ पाएको छ । विमल चिनालले गीतको सङ्गीत संयोजन गर्नुभएको छ । गायक विनम्र खत्रीलाई स्वरमा अमरदीप विसी, सुदीप सिञ्जाली मगर, निर्मला मगर र रुवी सिञ्जाली मगरले साथ दिनुभएको छ ।  (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार