भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताउनुभयो । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उहाँले बताउनुभयो ।
यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गाैला प्रत्यारोपण सम्पन्न गरी उहाँलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिनुभयो । “सामान्यतया मिर्गाैला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गाैलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गाैला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ”, उहाँले भन्नुभयो,“प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।”
चौधरीको पहिलो मिर्गाैला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण वीर अस्पतलमा डा श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गाैला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ । (रासस)
—
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend