Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डुबेर हुने घटना रोकथाम गर्ने नीति बनाउनुपर्ने आवश्यकतामा जोड


    मंगलबार, साउन २० २०८२
    945
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • जनकपुरधाम । पानीमा डुबेर हुने घटना रोकथाम गर्न नीतिगत पहल गर्नुपर्नेमा सरोकारवालाहरुले औंल्याएका छन् ।

    पानीमा डुबेर हुने घटना रोकथाम सम्बन्धी सोमबार जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले पानीमा डुबेर सबैभन्दा बढी मधेशमै मृत्यु भएको तथ्यांकहरुले देखाएपनि नीतिगत पहल नहुँदा घटना न्यूनीकरण गर्न नसकिएको बताए ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र बागमती सेवा समाजको सहयोगमा स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले मधेश प्रदेश सरकारले ल्याउन लागेको स्वास्थ्य सम्बन्धी नीतिमा यसप्रकारको घटना रोकथाम सम्बन्धी व्यवस्था गरिने जानकारी दिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नीति ल्याउने तयारी अगाडि बढाइसकेको छ, डा. यादवले भने–पानीमा डुबेर हुने घटना रोकथामबारे यसमा समेटिन्छ ।

    पानीमा डुबेर हुने घटना रोकथाम गर्नका लागि तीनै तहको सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने हो । पानीमा डुबेर हुने घटना शहरी क्षेत्रमा पनि हुने गरे पनि बढी ग्रामीण क्षेत्रमा हुने गरेको तथ्यांकहरुले देखाएकाले यस सम्बन्धी जनचेतना फैलाउने कार्य स्थानीय स्तरबाटै हुनुपर्नेमा डा. यादवले जोड दिए ।

    विगतमा गरिएको पहल पर्याप्त हुन नसकेकाले यसलाई स्थानीय तहसम्म लैजानका लागि पालिकाहरुमा स्वास्थ्य स्वय्मसेवक नियुक्त गरेर अघि बढ्नुपर्ने धारणा उनको थियो ।

    कार्यक्रमको अध्यक्षता समेत गरेका स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले केही बर्षयता मधेशमा पानीमा डुबेर हुने घटना बढ्दै गएकाले यसको रोकथाम गर्ने कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए । निर्देशनालयले पानीमा डुबेर हुने घटनाविरुद्ध कार्यक्रमहरु ल्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरे ।

    अहिलेको युगमा यसप्रकारको घटना बढ्दै जानु चिन्ताको विषय रहेकाले यसलाई रोकथाम गर्न तत्काल कार्यक्रमहरु संचालन गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयले मधेश प्रदेशमा पानीमा डुबेर हुने घटना केही वर्ष यता उकालो लागेको तथ्यांक सार्वजनिक गरेको थियो ।

    प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनुकुमार साहले एक प्रस्तुतीकरण गर्दै मधेशमा आर्थिक वर्ष २०८१।८२ मा २ सय ७२ जनाको पानीमा डुबेर ज्यान गएको जानकारी दिए । आर्थिक वर्ष २०७९।८० मा १ सय ४२ जनाको पानीमा डुबेर ज्यान गएको थियो भने आर्थिक वर्ष २०८०।८१ मा १ सय ९२ जनाले ज्यान गुमाउनुपरेको तथ्यांकले देखाएको छ । यसरी गएको तीन वर्ष ६ सय ६ जनाको पानीमा डुबेर ज्यान गएको प्रहरी निरीक्षक साहले बताए । पानीमा डुबेर ज्यान गुमाउनेमा १४ वर्ष मुनिका बढी रहेको छ ।

    कार्यक्रममा विश्व स्वास्थ्य संगठनका रमेशकुमार यादवले प्रस्तुतीकरण गर्दै पानीमा डुबेर हुने घटनाको एकीन तथ्यांक नरहेको बताए । प्रहरी र समाचारमाध्यममा आउने खबरको आधारमा यसको तथ्यांक तयार गरिएको बताउँदै अझै एकीन तथ्यांकको अभाव रहेको जानकारी दिए । विश्वमा वर्षेनी पानीमा डुबेर ३ लाख ७२ जनाको ज्यान जाने गरेको यादवले बताए ।

    पानीमा डुबेर मृत्यु हुनेहरूको यथार्थ तथ्य र प्रमाण संकलन गरी गहिरो अध्ययन अनुसन्धानको खाँचो रहेको यादवले बताए ।

    स्वास्थ्य कार्यालयल धनुषाका प्रमुख उमेशकुमार यादवले प्रदेश प्रहरी तथा मिडियाले दिएका सूचना तथा तथ्यांकभन्दा पालिका, जिल्लामा स्थानीय र पालिका क्षेत्रमा पर्ने प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय, जनप्रतिनिधिसँग तथ्यांक संकलन गरियो भने डुब्नेहरूको संख्या बढी र विश्वसनीय हुनसक्ने बताए ।

    डा. सतिशकुमार यादवले स्वागत मन्तव्य राखेका कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव राजेश मिश्र, डा. विपिन झा, स्वास्थ्य निर्देशनालयका रामविनय साह, खोप अधिकृत लक्ष्मेश्वर झा, फुलेन्द्र यादव, राजदेव यादव, विश्व स्वास्थ्य संगठनका डा। कमलेश यादव लगायतको उपस्थिति रहेको थियो ।

    संयुक्त राष्ट्रसंघले पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यका साथ जुलाई २५ लाई ‘वल्र्ड ड्राउनिङ प्रिभेन्सन डे’ घोषणा गरेको छ । डुबेर हुने मृत्यु रोकथामका लागि १२ वटा कानुनी प्रावधानलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार