Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सम्बन्धविच्छेद मुद्दा दायर गर्दै गायिका एलिनाले भनिन्- कागजी सम्बन्धमा बस्न सकिएन


    शुक्रबार, माघ १८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छिन् ।

    चौहानले शुक्रबार पति सापकोटाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

    उनले वारेस काठमाडौं महानगरपालिका-३ की ४५ वर्षीया विष्णु खरेललाई वारेस राखेर सम्बन्धविच्छेदको मुद्दा दायर गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

    चौहान झापा विर्तामोड नगरपालिका-७ स्थायी घर भएकी हुन् भने सापकोटा बागलुङ नगरपालिका-५ का हुन् ।

    उनीहरूबीच २०८१ वैशाख १ गते बिहे भएको थियो। बिहेपछि पतिसँग अष्ट्रेलिया गएकी चौहान केही महिनाअघि नेपाल आएकी थिइन्। सापकोटा भने अष्ट्रेलियामै छन् ।

    सम्बन्धविच्छेद गर्नुको कारणबारे उनले मुद्दामा उल्लेख गरेकी छिन्। उनले कलाकारिता क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रमहरूमा सहभागी भएर कहिलेकाहीँ अबेरसम्म बस्नुपर्ने गरेको तर सापकोटाले कार्यक्रमको बीचैमा फोन गरेर घरमा आउन भन्दै बाधा पुर्‍याउने गरेको उल्लेख गरेकी छिन्। सोही विषयमा मनमुटाव हुन गएको र अष्ट्रेलिया गएको तीन महिनापछि आफू नेपाल फर्किएको चौहानले बताएकी छिन् ।

    ‘नेपाल फर्किएपछि पनि म कलाकारिता क्षेत्रमा हुने कार्यक्रममा व्यस्त हुँदा उनले मेरो चरित्रमाथि शंका-उपशंकाको दृष्टिले अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भयो,’ उनले भनेकी छिन् ।

    यस्तो खालको प्रवृत्तिका कारण दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखेर आफूले मुद्दा दायर गरेको उनले उल्लेख गरेकी छिन्।

    ‘म फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति-पत्नीको सम्बन्धमा रहनु भन्दा,’ चौहानले मुद्दामा लेखेकी छिन्, ‘सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयस्कर लागेकाले अदालतमा उपस्थित भएकी छु ।’

    मुद्दामा उनले सम्बन्धविच्छेद गरे पनि पति सापकोटाबाट अंश, माना-चामल केही नलिने उल्लेख गरेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार