Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करीमा वाल्डो क्यासिनो, संचालकले सीआईबीबाट कसरी पाए उन्मुक्ति ?


    बिहिबार, चैत्र १५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • काठमाडौँ । सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको ठमेलको छायाँ सेन्टरमा संचालित वाल्डो क्यासिनो सुन तस्करीमा सबैभन्दा बढी जोडिएको जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

    सुन तस्करी जाँचबुझ आयोगले हङकङबाट पटक–पटक ब्रेक सूमा सुन तस्करी गर्ने चिनियाँहरुको कनेक्सन वाल्डो क्यासिनोसँग देखिएको भए पनि सीआईबीले त्यसका संचालकलाई सामान्य सोधपुछ समेत नगरेको बिषय उठाएको छ ।

    सो क्यासिनोमार्फत् चिनियाँहरुले हुन्डीका माध्यमबाट सुनको रकम भुक्तानी गर्ने गरेको भेटिए पनि सीआईबीले वाल्डोका संचालकलाई मुद्दा चलाउने त कता हो कता पक्राउ समेत नगरी उन्मुक्ति दिएको देखिएपछि आयोगले छानबिन गरेको थियो ।

    सीआईबीले वाल्डो क्यासिनोबाट ल्याएका सीसीटीभी फुटेज लगायतका प्रमाणहरु समेत सीआईबीको नेतृत्वले उपलब्ध नगराएको बिषय पनि बाहिर आएको छ । वाल्डो क्यासिनोका संचालक चिनियाँ नागरिक टेरेन्स टीएचसीलाई पनि ६० किलो सुन तस्करीमा दोषी ठहर गर्दै आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ ।

    यस्तो छ वाल्डो क्यासिनो र सुन तस्करको कनेक्सन

    सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरी निरीक्षक बिष्णुप्रदीप बस्यालले दिएको प्रतिवेदनमा वाल्डो क्यासिनोसँग जोडिएका एलेक्स भनेर चिनिने याओ पुचेङ, स्टेप्स भन्ने ली नेङ्गकाई, अली अर ली भन्ने ली वीन सङ र साउतेन भन्ने डिङ सेङ फा समेतको नाम उल्लेख छ । यीमध्ये पुचेङले क्यासिनोमार्फत् ठूलो रकम सुन तस्करीका लागि हुन्डीमायर्फत् हङकङ पठाउने गरेको पुष्टि भए पनि वाल्डोका संचालकलाई सीआईबीले पक्राउ नगर्नुमा ठूलो चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ ।

    सुन तस्करी जाँचबुझ आयोगले समेत वाल्डो क्यासिनोको सुन तस्करीमा संलग्नता पुष्टि हुने कागजात र प्रमाण सीआईबीसँग भए पनि नदिएको प्रतिवेदनमा उल्लेख गरेको छ । ६० किलो सुन तस्करीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका हर्कराज राई र तिब्बतीयन मूलका भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङले दिएको बयानमा पनि वाल्डो क्यासिनोबाटै चाइनिजहरुले सुन लुकाउन गाडीहरु प्रयोग गरेको खुलासा हुन्छ । ब्रेक सूमा सुन ल्याउने र भन्सार जाँचपास गरिसके पश्चात् बिभिन्न स्थानमा भएका गोदाममा राखी ती मालवस्तुहरु काठमाडौंको टोखामा भएको सुन गाल्ने मेसिन समेत भएको गोदाममा लगिने गरिएको थियो ।

    मेसिनमा गालेर ती मालवस्तुबाट सुन निकाली तौल र आकार बनाई सो सुन बिक्री गर्ने समेतका ब्यवस्थापनका लागि प्रतिवादी हर्कराज राईले बालुवाटारस्थित सोलुसन टुर्स एण्ड ट्राभन्स प्रालिका संचालक केशव श्रेष्ठसँग गाडी भाडामा लिएको बयान दिएका छन् । सोलुसन टुर्स एण्ड ट्राभन्स प्रा.लि.का संचालक केशव श्रेष्ठले पनि हर्कराज राईलाई रेनवत डष्टर, क्रेटा र ब्रेजा गाडी भाडामा दिएको स्वीकार गरेका छन् ।

    उक्त गाडीहरु हर्कराज राईले भाडामा लिएर टासी भन्ने थुप्तिन छिरिङले चाइनिज नागरिक ALEX YAO PUCHENG, STEPS LI NENGKAI, ALI OR LILI WEN –T SUNG / SAUTEN भन्ने DING SHENG FA समेतलाई प्रयोग गर्न दिएका थिए । उनीहरुले ती गाडी अवैध सुन ब्यवस्थापनमा गर्न प्रयोग गरेको भनी सोधपुछका क्रममा बताएका छन् । ती गाडीमा जडान भएको जीपीएस ट्रयाकर रेकर्ड को बिश्लेषण गर्दा उक्त गाडीहरु उल्लेखित चाइनिज नागरिकहरुले रेडी ट्रेड प्रा.लि. समेतका कम्पनीले हङकङबाट नेपाल पैठारी भई आएका ब्रेक सू समेतका मालवस्तुमा छिपाई राखेको अवैध सुन विभिन्न स्थानमा रहेका गोदामबाट टोखामा रहेको Dou Chuanjun ले भाडामा लिएको जग्गामा रहेको टहरामा लगि सुनलाई पगाली निश्चित आकार दिई तौल र साईज मिलाई बिक्री गर्ने समेतका प्रयोजनमा प्रयोग भएको देखिएकोे बिपना लामा, अशोक क्षेत्री समेतले मानिसको फोटो समेत सनाखत गरी कागज गरेको उल्लेख छ ।

    ती गाडीहरु गएको बिभिन्न स्थानको सीसीटीभी फुटेजसमेत सीआईबीले संकलन गरेको थियो । सीसीटीभी फुटेजका आधारमा ती चाइनिजले उक्त गाडीहरु प्रयोग गरी अवैध सुन राखेको बिभिन्न गोदामा आवत जावत गरी ठमेलस्थित भियना होटेलको कम्पाउण्डभित्र रहेको केटीभी रेष्टुरेन्टमा समेत गएको देखिएको थियो । सो क्लबका संचालन गर्ने भनिएका चाईनिज नागरिक ध्भ्ल् त्क्ग्ल्न् र ःक्ष्(त्क्ष्ब्ल् सँग भेटघाट गरी प्रत्यक्ष रुपमा संलग्न भई, योजना र बिस्तारित तयारीका साथ सुन तस्करीमा संलग्न रहेको देखिन आएको उल्लेख छ । एलेक्स भनेर चिनिने याओ पुचेङ लगायतका चिनियाँहरु मिली हङकङबाट नेपालको एयरपोर्ट प्रयोग गरी भारतीय बजार समेतमा सुनको व्यापार गर्ने योजना बनाएको उल्लेख छ ।

    एलेक्स भनेर चिनिने याओ पुचेङ वाल्डोमा जुवा खेल्न गइरहन्थे भन्ने कुरा त सीआईबीले गराएको बयानमा खुलेको छ । पुचेङलाई भदौ १ मा सिआईबीले पक्राउ गरेको थियो । सुन तस्करीमा संलग्न मुख्य योजनाकारमध्येका पुचेङले वाल्डो क्यासिनोमार्फत् अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको खुलेको छ । तर क्यासिनो वाल्डोका संचालकलाई भने सीआईबीले अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । सीआईबीले वाल्डो क्यासिनोका संचालकलाई किन मुद्दा चलाएन ? वाल्डो क्यासिनोका संचालकसँग एआईजी किरण बज्राचार्यले ठूलै सेटिङ गरी उन्मुक्ति दिएको आरोप छ । वाल्डो क्यासिनोका संचालकमाथि मुद्दा नचलाई उन्मुक्ति दिएपछि चलखेललाई पुष्टि गरेको छ ।

    सुन तस्करी जाँचबुझ आयोगले उक्त क्यासिनोबाट बरामद सीसीटीभी फुटेज र कम्प्युटरको विवरण जाँचबुझका लागि माग्दा सीआईबीले उपलब्ध नगराएको प्रतिवेदनमै उल्लेख गरेको छ ।  सीआईबीका एसपी कृष्ण पँगेनीले वाल्डोबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाएका थिए । तर, त्यो प्रतिवेदन सीआईबीले आयोगलाई नदिएकाले पनि वाल्डोका संचाकलसँग सेटिङ भएको कुरालाई पुष्टि गरेको छ ।

    छायाँ सेन्टरमा शंकास्पद लगानी 

    वाल्डो क्यासिनोबाट अबैध सुन ओसारपसारका लागि हुन्डीबाट भुक्तानी हुने गरेका तथ्यहरु खुलिरहँदा छायाँ सेन्टरका लगानीकर्ताहरुको शंकास्पद कारोबारका बारेमा पनि विभिन्न कोणबाट सवाल आउने गरेका छन् । छायाँ सेन्टरका म्यानेजिङ डाइरेक्टर महेश्वरप्रकाश श्रेष्ठ र सुहृदराज घिमिरेको लागनीका बारेमा प्रश्न उठेका हुन् । १२ बर्षअघिसम्म सामान्य चार्टड एकाउन्टेन्ट रहेका श्रेष्ठ पछिल्लो समय अरबौंका हाइड्रोपावर मालिक छन् । माण्डु हाइड्रोपावर, राहुघाट हाइड्रोपावर र निलगिरी हाइड्रोका मालिक हुन् उनी । चीनका ब्यापारीहरुले त्यहाँ आर्जन गरेको कालोधन सेतो बनाउन श्रेष्ठमार्फत् नेपालका हाइड्रोपावरमा लगानी गरेको चर्चा पनि ब्यापारीक जगतमा हुने गरेको छ । चिनियाँहरुले भ्रष्टाचारको रकम हुन्डीमार्फत् पठाएर हाइड्रोपावरमा लगानी गरी उनी छोटो समयमा अरबौंपति बन्न सफल भएका ब्यापारी हुन् ।

    त्यसैगरी, ललिता निवासको करिब १५ रोपनी सरकारी जग्गा सासु इन्दु शर्माका नाममा हडपेका सुहृद घिमिरे छायाँ सेन्टरका डाइरेक्टर हुन् । उनले छायाँ सेन्टरमा श्रीमती रेखा शर्माको नाममा सेयर हालेका छन् । सुहृद घिमिरेले बालाजु औद्योगिक क्षेत्रको १४ रोपनी जग्गा र सो जग्गामा निर्मित भवन १३ बर्षदेखि कब्जा गरेका छ्न । सेटीङमा घिमिरेले कव्जा गरेको भवन छाडेका छैनन् ।

    वि.सं. २०३९ सालमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र ब्याट्री कम्पनीबीच २० वर्षका लागि लिज सम्झौता भएर कम्पनी सञ्चालनमा आए पनि २०५७ सालदेखि भने मजदुरहरूको आन्दोलनका कारण ब्याट्री कम्पनी बन्द भएको थियो । उद्योग बन्द भएपछि सोही कम्पनीमा कार्यरत उच्च तहका कर्मचारी र त्यहाँ कार्यरत मजदुरहरूले स्वास्थ्य, शिक्षा सेवासँग सम्बन्धित संस्था सञ्चालन गर्न एभरेस्ट एकेडेमी फर मेडिकल साइन्सेज प्रालिका नाममा जग्गा लिजपट्टामा दिएको थियो ।

    मन्त्रालयले पनि २०६६ सालमा नै उक्त एकेडेमीलाई जग्गा लिजपट्टामा दिने सहमति त दियो । तर विविध कारण देखाई उक्त एकेडेमी सञ्चालन सञ्चालन नहुने भएपछि व्यापारी घिमिरेले सेटिङमा २०६७ सालमा बिना सम्झौता नै कन्टिनेन्टल सर्भिसेज प्रालिले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा सो जग्गाको जग्गा बहाल र प्रवेश शुल्क तिरेका थिए । २०६७ असारमा औद्योगिक क्षेत्रले सो जग्गा कन्टिनेन्टललाई नै २० वर्ष दिने निर्णय गरी सम्झौता गरेको थियो । कौडीको मूल्यमा उक्त जग्गा लिजमा दिइएको भन्दै बिरोध हुँदैआएको छ ।

    ललिता निवास, बालाजुको १४ रोपनी जग्गादेखि विभिन्न काण्डमा जोडिएका ब्यापारी घिमिरेले नेपालबाट अकूत सम्पत्ति कमाएर करछली गरी विदेशमा लुकाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । तर विभागका तत्कालीन डीजीले उनको बारेमा छानबिन गर्नुको साटो सेटिङमा सफाइ दिएका थिए ।

    घिमिरेले करमुक्त भनिएको ब्रिटिस भर्जिन आईयाण्डमा सम्पत्ति लुकाएको बिषय अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संस्था आइसिआइजेले उजागर गरेको थियो । घिमिरेले आफ्नी छोरीको नाममा इको बे नामक कम्पनी नै खडा सम्पत्ति लुकाएको आरोप लागेको छ । श्रेष्ठ र घिमिरेको लगानीका बारेमा नेपालका बिभिन्न निकायले छानबिन पनि गरिरहेको स्रोत बताउँछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार