काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले काजमा कार्यरत प्रहरीलाई दरबन्दीमै फिर्ता गर्ने अभियान डीआईजी हुँदादेखि नै चलाए । उनको अभियानका कारण बर्षौदेखि काजमा कार्यरत प्रहरीहरु फिर्ता भए ।
प्रहरीले आवधिक सरुवा गर्दैआएको छ । आवश्यक प्रहरी सरुवा गर्न सकिन्छ काजमै राख्नु जरुरी छैन । तर पनि धेरै जिल्लामा कार्यालय प्रमुखले आफू सरुवा भएर जाँदा सँगै आफ्ना विश्वासपात्र सवारीचालक, बडीगार्ड सँगै लिएर जाने गरेका छन् ।
विगतमा प्रदेश वा जिल्लामा कार्यालय प्रमुख भएर जाने डीएसपी, एसपी, एसएसपी र डीआईजीहरुले आफूसँग काम गरेका घुमुवा, सवारीचालक, बडीगार्ड सँगै लिएर जाने गरेका धेरै दृष्टान्त पाउन सकिन्छ । कार्यालय प्रमुखका रुपमा जानेहरुले खटाइएको जिल्ला वा जुन कार्यालयमा पनि सवारी चालकदेखि बडीगार्ड त्यहीँका जुन प्रहरी कर्मचारीलाई राखे पनि हुन्छ । तर बर्दीको आडमा आर्थिक कारोबार गर्दा लिक हुनसक्ने भएकाले सँगै काम गरेकाहरु काजमा लिएर जाने गरेका छन् ।
उदाहरणका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले सरुवा हुनासाथ इन्स्पेक्टर दीपेन्द्र चन्द, सई बालकृष्ण संजेललगायतलाई लगेका छन् । जागिर खाएदेखि काठमाडौंमै कार्यरत र पछिल्लो समय बुढानीलकण्ठ प्रभागका इन्चार्ज भएका चन्दलाई उपत्यकाका गुण्डानाइकेदेखि हुन्डी र बुकीका कारोबारीहरुको बारेमा जानकारी भएकाले एसएसपी राठौरले उनलाई लगेको आरोप छ ।
अपराध अनुसन्धान कार्यालयको एसपीबाट पर्सामा जाँदा पनि राठौरले तत्कालीन सई बिदुर शिवाकोटी, जवान सुरेन्द्र कार्कीलगायतको आफूसँग कार्यरत र अतिरिक्त कमाइमा निपुर्णहरुलाई सँगै लगेका थिए । पूर्वआईजीपी सर्वेन्द्र खनालले सई बिजय यादवलाई जहाँ सरुवा हुँदा पनि सँगै लिएर जाने गरेका थिए । आइजीपी भएपछि यादवलाई उनले निवासमै राखेका थिए ।
यी प्रतिनिधि घटना हुन्, प्रायः सबै प्रहरी अधिकृतले कार्यालय प्रमुखको रुपमा खटिएर जाँदा गएको कार्यालयका प्रहरीमाथि विश्वास नगरी आफैंले लिएर जाने गरेका छन् । कार्यालय प्रमुखले आफ्नै संगठनका प्रहरीमाथि विश्वास नगरी अतिरिक्त आम्दानीका लागि विश्वासपात्रहरुलाई सँगै लिएर जाँदा पनि काजमा कार्यरतहरुको संख्या बृद्धि भएको छ ।
नेपाल प्रहरीका बर्तमान आइजीपी कुँवरले डीआईजी हुँदादेखि नै काजफिर्ता अभियान चलाए । त्यही अभियान अन्तर्गत मधेश प्रदेशका सयौं प्रहरी दरबन्दीमै फिर्ता भए । प्रहरी सेवामा प्रवेश गरेदेखि नै बारा र पर्सामै बसेका बरिष्ठ सई सागर राणा, बिनोद सिंह पनि सरुवा भए । संखुवासभा, खोटाङ सरुवा भए पनि कहिल्यै पनि खटाएको कार्यालयमा नगएका राणालाई आईजीपी कुँवरले रामेछाप सरुवा गरिदिए । पर्साका बरिष्ठ सई बिनोद सिंहलाई डोटी सरुवा भए ।
सिंहले डोटीमा सरुवा गरेपछि राजीनामा दिइसकेका छन् । बाराबाट सागर राणा रामेछाप सरुवा भएको ३ महिना नपुगी उपत्यका प्रहरी कार्यालयमा दरबन्दी मिलाउन सफल भएका छन् । उनी रामेछापमा १५ दिन पनि काम नगरी काठमाडौंमा आएका छन् । सागरको टोलीलाई उपत्यका प्रहरी कार्यालयले कुन ड्युटीमा खटाइएको छ त्यहीँ कार्यरत उच्च अधिकारीलाई समेत जानकारी छैन ।
धनुषामा दसौं बर्षदेखि छायाँ एसपीका रुपमा सबै सेटिङ गर्दै आएका सई बब्लुकुमार ठाकुर जस्ता पावरफुल सईलाई पनि आइजीपी सिंहले दरबन्दी भएको कोशी प्रदेशको उदयपुर काजफिर्ता गर्न सफल भए । भलै उनी कटारी प्रहरीको सुबेदार मेजरमा सरुवा भएर असईलाई सबै जिम्मा दिएर महिनामा २० दिनभन्दा बढी धनुषामै बसी एसपी विश्व खडुकाको सेटिङमा तल्लीन रहेकै छन् । क्रसरदेखि तस्करीसम्मको सेटिङ सरुवा भएपछि पनि उनले गरिरहेका छन् । शुक्रबारको सईको सरुवामा ठाकुर सिमरा एयरपोर्टमा सरुवा भएका छन् । मधेश प्रदेशमै सरुवा भएपछि उनलाई धनुषामा काजमा जान सहज भएको छ ।

आइजीपी अर्यालले लिखित परिपत्र नै गरी काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा पठाउन निर्देशन दिएका छन् । त्यही निर्देशनको पालना गरी बारा, पर्सा, धनुषा जस्ता जिल्लामा शक्तिको आडमा लामो समयदेखि कार्यरत जुनियर अधिकृतदेखि जवानसम्म काजफिर्ता भए । तर कतिपय जिल्ला वा प्रदेशका प्रमुखले अझै पनि आईजीपीको लिखित निर्देशन पालना नगरी काजमा राखेर आर्थिक लाभ लिएको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा लामो समय घुमुवा बसेका सुरेन्द्रकुमार साहलाई आईजीपी कुँवरकै शुद्धिकरण अन्तर्गत गएको चैत अन्तिममा दंगागण हेटौंडामा सरुवा गरिएको थियो । तर बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी किरण राणाले ३ महिनामै उनलाई मकवानपुर जिल्ला प्रहरी कार्यालयमा ल्याएर रातमाटे चेकपोष्टमा खटाएकी छन् । पर्सादेखि काठमाडौंसम्म कुन कुन ब्यापारीले के के सामान कसरी लान्छन् भन्ने जानकारी भएका साहलाई आर्थिक लाभकै लागि रातमाटेमा राखेको आरोप डीआईजी राणामाथि लागेको छ । साहको दरबन्दी चितवन हो । प्रदेशको प्रमुखमा सरुवा भएपछि आफूलाई कडा रुपमा प्रस्तुत गर्दै आएकी बागमती प्रदेशका डीआईजी किरण राणाले साहलाई सुरुमा गणमा तानी पछि मकवानपुरको पशुपतिनगरस्थित रातमाटे चेकपोस्टमा परिचालन गरेकी छन् ।
दर्जाले हवल्दार भए पनि साह प्रहरी मुख्यालयको उच्चतहसम्मै सेटिङ मिलाउन सक्षम मानिन्छन् । विगतमा पनि ९ बर्ष रातोमाटेमा कार्यरत साहले सुनदेखि ल्यापटप समाएर गायब बनाएको आरोप साहमाथि लाग्ने गरेको छ । नाकामा बस्ने क्रममा उनलाई तस्करीको नेटवर्क, तस्करीमा प्रयोग हुने ट्रान्सपोर्टहरूको नालीबेली थाहा छ । त्यही भएकाले डीआईजी राणालाई खुसी पारेर उनी त्यहाँ पुनः जान सफल भएका छन् । साह ३ बर्षअघि पर्सामा समेत घुमुवा थिए । तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीले उनलाई रातमाटेबाट तानेर १ नम्बर गण टंगालमा कारबाहीस्वरूप १५ दिन राखी गोरखामा सरुवा गरेका थिए । तर शक्तिकेन्द्र मिलाएर उनी नवलपरासी हुँदै चितवनको घुमुवा र पुनः रातमाटेमै फर्किन सफल भएका छन् ।
तराईका जिल्लाका कतिपय विवादित घुमुवाहरु बिरामी भएको बहाना बनाएर अस्पतालमा बसेका छन् । चितवन ट्राफिक प्रहरी कार्यालयमा ५ बर्षदेखि कार्यरत प्रहरीलाई पनि दरबन्दी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता गरिएको छैन । सवारी चालकका रुपमा राखिएका प्रहरीलाई ५ बर्षदेखि ट्राफिकको इन्चार्ज भएर आउनेले घुमुवाको रुपमा आर्थिक संकलनमा परिचालन गरेका छन् । चितवन ट्राफिक प्रहरी कार्यालयका हालका इन्स्पेक्टर सरोज सुवेदीले पनि उनलाई घुमुवाकै रुपमा खटाएका छन् ।
नेपाल प्रहरीका कार्यालय प्रमुखका रुपमा खटिने अधिकृतहरुले यसैगरी काजमा लामो समय राखेर दुरुपयोग गरेका छन् । आईजीपी कुँवरले दरबन्दीमा पठाउने, काजमा नराख्ने नीति लागू गर्न छाडेका हुन् कि मातहतका कार्यालय प्रमुखहरुले कार्यान्वयन नगरेका हुन् भन्ने प्रश्न उठेको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend