Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कलाकार आँचलको सफलतामा जलन किन ?


    बुधबार, बैशाख २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । उद्योगको रुपमा स्थापित हुँदै गएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समय दर्शकको रोजाईमा पर्न थालेका छन् । एकाध चलचित्र बाहेक धेरै चलचित्रले दर्शकको मन जितेका छन् ।

    कलाकारिताबाटै जीवन धान्न सक्ने अवस्थाको सिर्जना हुँदै गएपछि यस क्षेत्रमा नयाँ कलाकारको आकर्षण बढेको छ । पुराना र स्थापित कलाकारहरुको जीवन शैली र कलाकारितामा स्थापित हुने क्रम बढ्दै गएपछि नयाँ कलाकारहरु कला क्षेत्रमा आउन थालेका छन् । विगतमा सौखका लागि गरिने कलाकारिता यतिबेला व्यवसायिक रुपमा अगाडि बढेको छ । चलचित्र, म्युजिक भिडियो, स्टेज कार्यक्रमको व्यापकतासँगै कलाकारको दैनिकी पनि ब्यस्ततामा बदलिएको छ । चलचित्र उद्योगलाई स्थापित गर्दै व्यवसायिक मार्गमा लैजाने कार्यमा निर्माताको लगानीसँगै कलाकारको दक्षताले महत्वपूर्ण भूमिका खेलेको छ ।

    यहाँ हामीले अभिनेत्री आँचल शर्माको प्रसंगलाई उठान गर्न खोजेका हौं । पछिल्लो समय कलाकार आँचलका बारेमा एक सञ्चार माध्यमले विवादास्पद अभिव्यक्ति दिएपछि त्यसले चलचित्र क्षेत्रमा क्रियाशील कलाकारहरुलाई मिडियाले हेरेको दृष्टिकोणका बारेमा बहस शुरु भएको छ ।

    तिललाई पहाड बनाएर कलाकारसँग बदला लिने मिडियाको शैलीप्रति चर्को आलोचना हुँदै गएको छ । आँचलका बारेमा युट्युव टीबीको होस्टले व्यक्तिगत लाञ्छना लगाएर जुन किसिमको हुर्मत लिने प्रयत्न गरेका छन्, त्यो सञ्चार जगते गर्ने काम होइन । कुनै पनि कलाकारले मिडियामा अन्तर्वार्ता दिने वा नदिने विषय उसको व्यक्तिगत अधिकार हो । कलाकार भएपछि सञ्चारमाध्यममा भनेको बेला बोल्नैपर्छ भने जस्तो जुन किसिमको हर्कत प्रदर्शन गर्न खोजिएको छ यसले मिडियाका अगाडि कलाकार झुक्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ । यो तथ्य कदापि स्थापित हुन सक्दैन ।

    सार्वजनिक भएको विषयलाई हेर्दा मिडियाकर्मी आफैंले अन्तर्वार्तामा आउने वा नआउने विषय कलाकारको निजी स्वतन्त्रतासँग गाँसिएको विषय भएको स्वीकारे पनि १८ मिनेट लामो उक्त प्रस्तुतिमा एकांकी ढंगले आँचलका बारेमा आलोचना र गालीगलौज गर्नुले उनले स्वीकारेको विषयलाई पनि छायाँमा पारेको छ ।

    प्रस्तोताले सामग्री तयार पार्ने क्रममा आँचलको प्रतिक्रियासमेत लिन प्रयास नगर्नुले पत्रकारिताको मर्मलाई पनि भुलेको देखिन्छ । निश्चय पनि कलाकार सार्वजनिक सम्पत्ति हुन् । यसो भनिरहँदा उनीहरुको निजी जीवन हुँदैन भन्ने होइन ।

    सार्वजनिक जीवनमा रहँदा र निजी जीवनमा रहँदाको फरक भेदलाई छुट्याउन सकिएन भने कलाकालको वास्तविकतालाई भुलेको अर्थ लाग्छ । प्रस्तुतिमा एक कलाकारको विषयलाई लिएर अर्को कलाकारसँग दाँज्न खोज्नुले मिडिया एकांकी भएको र कसैको उक्साहटमा लागेर सामग्री तयार पारेको जस्तो देखिन्छ ।

    कलाकारबीचमै द्वन्द्व सिर्जना गर्ने किसिमले सागम्री तयार पारिएकाले यस्ता किसिमका सामग्री प्रशारण हुँदा कलाकारबीच द्वन्द्व सिर्जना हुने देखिन्छ । चलचित्र तयार भइसक्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दर्जनौं कलाकार, प्राविधिक र अन्य व्यक्तिहरुको सामूहिक भूमिका रहेको हुन्छ । विदेशमा बसेर आँचलद्वारा अभिनित चलचित्र समेत नहेरेका प्रस्तोताले चलचित्र र कलाकारका बारेमा टिप्पणी गर्न सु्हाउँदैन । आँचलले प्रयोग गर्ने पहिरनका बारेमा सामग्री तयार पार्नुले उक्त मिडियाको नियत प्रष्ट हुन्छ ।

    सामूहिकतामा टिकेको र यसैका आधारमा सफल हुँदै गएको चलचित्र उद्योगलाई नै धरासायी बनाउने किसिमले कलाकार कलाकारबीच द्वन्द्व सिर्जना गर्ने किसिमले जुन सामग्री प्रस्तुत गरिएको छ यसले चलचित्र क्षेत्रलाई मात्र होइन रंग पत्रकारितामाथि नै प्रश्न उठाउने अवस्था आएको छ । अनावश्यक रुपमा व्यक्तिको चरित्रहत्या गर्ने किसिमका यस्ता सामग्री तयार पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि चलचित्र पत्रकारहरुले अग्रसरता लिन आवश्यक छ ।

    कोभिडपछिको विकराल अवस्थालाई चिर्र्दै विस्तारै टाउको उठाउन थालेको चलचित्र उद्योगलाई प्रवद्र्धन गर्नका लागि यस क्षेत्रले स्वच्छ आलोचनाको अपेक्षा राखेको छ । युट्युबबाट दुई चार पैसा बढी झार्ने नाममा कलाकारहरूको ब्यक्तिगत चरित्रहत्यामात्र होइन कि पारिवारिक समस्या सिर्जना गर्ने किसिमका सामग्री तयार पार्ने अभियालाई निरन्तरता दिन प्रश्रय दिने हो भने भोलिका दिनमा कलाकारहरु मिडिया देखेपछि भाग्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्था आउन नदिन सबै सजग हुन जरुरी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार